अर्थ/व्यापारप्रमुख समाचारसमाचार

बिदेशी मुद्रा सञ्चितीमा ऐतिहासिक रेकर्ड

३० खर्ब ५५ अर्ब रुपैंयाँ बराबरको सञ्चिती, २० महिनाको वस्तु आयात धानिने

बुटवल । बिदेशी मुद्राको सञ्चितीले ऐतिहाँसिक रेर्कड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था सम्वन्धी चालु आर्थिक बर्षको कात्र्तिक मसान्तसम्मको तथ्यांक अनुसार २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १४ दशमलव एक प्रतिशतले बढेर २०८२ कात्तिक मसान्तमा ३० खर्ब ५५ अर्ब ५२ करोड पुगेको हो । अमेरिकी डलरमा यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १० दशमलव तीन प्रतिशतले वृद्धि भई २१ अर्ब ५२ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा १२ दशमलव आठ प्रतिशतले बढेर २७ खर्ब २४ अर्ब ६६ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा २०८२ कात्तिक मसान्तमा २५ दशमलव आठ प्रतिशतले बढेर तीन खर्ब ३० अर्ब ८५ करोड कायम भएको छ । २०८२ कात्तिक मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ दशमलव नौं प्रतिशत रहेको छ ।

राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २० महिना आठ दिनको वस्तु आयात र १७ महिना १४ दिनको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ । २०८२ कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृतमुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५० प्रतिशत, एक सय ४४ दशमलव नौं प्रतिशत र ३७ दशमलव आठ प्रतिशत रहेका छन् । २०८२ असार मसान्तमा उक्त अनुपातहरू क्रमशः ४३ दशमलव आठ प्रतिशत, एक सय २८ दशमलव एक प्रतिशत र ३४ दशमलव एक प्रतिशत रहेका थिए ।

अन्तर्राष्ट्रिय बजारमा २०८१ कात्तिक मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७३.४५ रहेको कच्चा पेट्रोलियमको मूल्य २०८२ कात्तिक मसान्तमा १३ दशमलव छ प्रतिशतले कमी आई अमेरिकी डलर ६३.४५ कायम भएको छ । त्यसैगरी, अन्तर्राष्ट्रिय बजारमा २०८१ कात्तिक मसान्तमा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर २५७१.८० रहेकोमा २०८२ कात्तिक मसान्तमा ५८.३ प्रतिशतले वृद्धि भई अमेरिकी डलर ४०७१.१० पुगेको छ । २०८२ असार मसान्तको तुलनामा २०८२ कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ ३.३ प्रतिशतले अवमूल्यन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ १.० प्रतिशतले अवमूल्यन भएको थियो । २०८२ कात्तिक मसान्तमा अमेरिकी डलर एकको खरिद विनिमय दर एक सय ४१ रुपैंयाँ ७० पैसा पुगेको छ । २०८२ असार मसान्तमा उक्त विनिमय दर एक सय ३७ रहेको थियो ।

राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा चालु खाता भने दुई खर्ब ७९ अर्ब ६५ करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता एक खर्ब ४७ अर्ब ७८ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब १० करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब ९९ करोडले बचतमा रहेको छ । समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर छ अर्ब २१ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर दुई अर्ब ४७ करोड रहेको थियो । यसैगरी, समीक्षा अवधिमा दुई अर्ब ४९ करोड प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) पाँच अर्ब ७६ करोड रहेको थियो । समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब १८ अर्ब ४० करोडले बचतमा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति दुई खर्ब पाँच अर्ब ८३ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब ५३ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब २६ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ ।

World Link
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via