सम्पादकीय

आवश्यकतालाई प्राथमिकता देउ

यतिबेला देशभर विभिन्न ठाउँहरुमा निर्माण भैरहेका भ्यूटावरहरुले सामाजिक सञ्जालहरुमा चर्चा पाईरहेका छन् । पर्यटन पर्वद्धनको नाममा निर्माण भएका भ्यू टावरहरु प्रति केही सकारात्मक टिप्पणीहरु भएतापनि धेरै जसो नकारात्मक टिप्पणीहरु भएका छन् । निर्माण भएका र निर्माणाधिन अवास्थामा रहेका भ्यूटावरहरुलाई जनताको आधारभूत आवश्यकताहरु सँग जोडेर धेरैले सामाजिक सञ्जालहरुमा टिप्पणी गर्ने गरेका छन् । जुन टिप्पणीलाई नकारात्मक रुपमा लिन सकिंदैन किनकी आधारभूत आवश्यकताको पुर्ती पछि मात्र अन्य जनचाहनालाई पुरा गर्नु पर्ने हुन्छ । जहाँ जनतालाई बिहान साँझको हातमुख जोर्नको लागि खाना छैन त्यहाँ त्यसपछि आवश्यक पर्ने आवश्यकताको पुर्तीले कुनै अर्थ राख्दैन । पहिलो आवश्यकताको पुर्ती सँगै दोश्रो आवश्यकता पर्दछ । त्यो पहिलो आवश्यकता भनेको आधारभूत आवश्यकता हो । जहाँ गास, बास, कपास हुन्छ । त्यसपछि क्रमश अन्य आवश्यकताहरु थपिंदै जान्छन् । यसरी क्रमिक रुपले एक पछि अर्को आवश्यकताको परिपुर्ती हुँदै जाँदा मानिसहरुलाई मनोरञ्जनात्मक र अन्य विलासी जीवनका लागि थप आवश्यकताहरु थपिन्छन् । त्यसपछि मात्र मानिसमा अहमता बढ्दै को भन्दा को कमको होडबाजी चल्नसुरु हुन्छ ।

नेपालमा संघीयता आएको पनि पाँच बर्ष वित्नै लाग्यो । संघीयतामा एक संघीय सरकार, सात वटा प्रदेश सरकार र सात सय ५३ वटा स्थानीय सरकारहरु निर्माण भएका छन् । विगको २० बर्ष स्थानीय निकाय जनप्रतिनिधी किहीन हुँदा स्थानीय स्तरको विकास हुन नसकेको कुरा हामीबाट मेटिन सकेको छैन । देशमा दीर्घकालिन विकासको आवश्यकता भएतापनि त्यो हुन सकेको छैन । जनप्रतिनिधीहरुले भरिभराउ भएको संघीयताको पहिलो कार्यकालमा पनि दीर्घकालिन महत्व बोक्ने विकास निर्माणका योजनाहरु कार्यान्वयनमा आउन सकेका छैनन् । सात सय ६१ वटै सरकारलाई जनतालाई तत्काल छिटो देखाउने काम गर्नु पर्ने हतारोले गर्दा देखिने प्रकृतिका विकास निर्माणका योजनाहरु अगाडी बढ्न सकेका छैनन् । काम जस्तो होस तर देखियोस भन्ने भावनाको विकासले बजेटको अधिकांस हिस्सा पूर्वाधारमा थुपारिएको छ । दीर्घकालिन रुपमा महत्व बोक्ने शिक्षा, स्वास्थ्य, जलविद्युत, कृषि, उद्योगकलकारखाना लगायतका क्षेत्रहरुमा कम प्रथामिकता दिएको छ । जसले गर्दा वर्तमानको लगानीले भविष्यमा प्रतिफल लिन सक्ने अवस्था झनपछि झन नाजुक बन्दै गएको छ । तत्काल देखिने क्षेत्रमा भएको लगानी तत्कालका लागि आकर्षक देखिएतापनि त्यसले दीर्घकालिन महत्व बोक्न सक्दैन् ।

संघीयता ल्याउनुको प्रमुख कारण भनेको जनस्तरबाट विकास निर्माणको मूल फुटाउनु हो । जनताका स–साना आवश्यकताहरुको परिपुर्ती गर्दै अन्य ठुला योजनाहरु कार्यान्वयनमा ल्याएर समृद्धि ल्याउनु हो । पछिल्लो समयमा चर्चा बटुलेका भ्यूटावरहरु जनताका तत्कालिन आवश्यकताहरु होईनन् । जनताका सुरुका आवश्यकताहरु पुरा हुँदै गएपछि समयको मागसँगै निर्माण गरिनु पर्ने ति भ्यू टावरमा भएको लगानी शिक्षा, स्वास्थ्य, जलविद्युत, रोजगारी लगायतका क्षेत्रहरुमा लगाएको भए त्यसले दीर्घकालिन फाईदा पुग्ने थियो । जनताले उपचार, रोजगारी, गुणस्तरिय शिक्षा नपाएर छटपटिएको समयमा निर्माण भएका त्यस्ता भ्यू टावरहरु हजारौंको संख्यामा निर्माण भएपनि कुनै अर्थ हुँदैन । लोकप्रियता देखाउनको लागि तत्काल आवश्यकतालाई कुल्चिदै त्यस्ता कार्यहरु कुनै पनि क्षेत्रबाट गरिनु हुँदैन । ति आावश्यकताहरु तत्काल जनताका आवश्यकताहरु होईनन् । आवश्यकता समयको परिवर्तन सँगै माग हुने भएकोले तत्काल आवश्यकताको आधारमा क्रमिक रुपले पुरा गर्दै जानु पर्दछ । त्यसैले आवश्यकतालाई प्राथमिकताको सूचीमा राखेर सोही अनुसार कार्यसम्पादन गरे मात्र समृद्ध नेपाल निर्माण गर्न सकिन्छ ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via