प्रविधिमैत्री प्रशासन, पारदर्शी शासनमा जोडदिंदै बर्दघाट नगरपालिका नवलपरासी

पोसकान्त पोखरेल
बुटवल । बिहान १० बजेको राष्ट्रिय गानको प्रार्थना सहित कार्यआरम्भ गर्ने बर्दघाट नगरपालिका, नवलपरासीले सुशासनयुक्त प्रशासनिक सेवालाई आफ्नो मुख्य प्राथमिकता बनाउँदै स्थानीय सरकारको प्रभावकारिता बढाउन विभिन्न क्षेत्रहरुमा अशल अभ्यासहरु गर्दै सोही अनुसारको कार्यसम्पादनमा जोड दिएको छ । नगरपालिकाका जनप्रतिनिधी र कर्मचारीहरूको सक्रियतामा भएका विभिन्न कार्यक्रमहरुका साथै सेवा प्रवाहमा देखिएको सरलता, पारदर्शिता र प्रविधिको उच्चतम प्रयोगले नगरपालिकाले सुशासनलाई जोड दिएको प्रष्ट हुन्छ । नगरपालिकाले अनलाइन राजस्व प्रणाली, डिजिटल बडापत्र, सार्वजनिक सुनुवाइ, नगरपालिकामा भएका गतिविधीहरुलाई वेवसाईट तथा सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने जस्ता विभिन्न कार्यहरुबाट नागरिक र सरकारबीचको दूरी घटाउने काम गर्दै भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अवलम्बन गरेर योजना तर्जुमादेखि कार्यान्वयनसम्म जनसहभागिता सुनिश्चित गराउनु र कर्मचारीहरूको कार्यक्षमता वृद्धि गर्न आवश्यक विभिन्न पद्धतिहरू अपनाउनुले बर्दघाट सुशासनयुक्त प्रशासनिक सेवामा अब्बल बन्दै गएको अनुभूति लिन सकिन्छ ।

नगरपालिकाका प्रमुख प्रशसकीय अधिकृत बावुराम पौडेलले स्थानीय तह भनेको आकारले सानो भएतापनि जनताको घरआँगनको सरकार नै हो । जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कार्यसम्पादन गर्नु स्थानीय तहको प्रमुख दायित्व र कर्तव्य हो । त्यसका लागि सुशासनयुक्त प्रशासनिक सेवा प्रमुख हुन्छ । हामी सधै जनताका कामहरु समय अगावै सक्नुपर्छ मान्यताका साथ कडाईका साथ गर्ने गर्दछौं । जनताका सुझाव सल्लाहहरुलाई मननन् गर्दै कार्यान्वयनमा ल्याउने, पदाधिकारीहरुको सेवा सुविधाहरुको बैंकङि च्यानल मार्फत भुक्तानी गर्ने व्यवस्था मिलाएका छौं । सामाजिक विकासका कार्यक्रमहरुमा ३० प्रतिशत सम्बन्धित सरोकारवालाले बेहोर्नु पर्ने व्यवस्थाको भएको छ । नियमावली र कार्यविधीको आधारमा सञ्चालित हुँदा देखिएको असहजतालाई हटाउन ११ भन्दा बढी कानुन निर्माण गरेर कार्यसम्पादनमा आउने कानुनी बाधा अड्चन फुकाउने कार्यको थालनी समेत भएको बताए ।
गुणस्तरीय शिक्षाका लागि ‘ज्ञानको साझेदारी’ रणनीति अवलम्वन गरेका छौं । विभिन्न १९ भन्दा बढी विधीहरुको प्रयोग गरेर जान्नेले नजान्नेलाई सिकाउने पद्धतीको विकास भएको छ । डायलसिस सेवा विस्ताको लागि आवश्यक स्वास्थ्य उपकरण खरिद गरी सञ्चालनको चरणमा रहेको छ । बार्षिक ४० भन्दा कम डेलिभरी गराउने बर्थिङ सेन्टरहरुलाई पायकपर्ने नजिकको अर्को सेन्टरमा स्थान्तरण गरेर खर्च कटौती गर्ने कार्य भएको छ । नगपालिकाको कार्यबोझ, उपलब्ध बजेट र नागरिकको आवश्यकता अनुसार कति कर्मचारी चाहिन्छ र कुन–कुन शाखा आवश्यक छ भनेर निर्धारण गर्न “सही ठाउँमा सही व्यक्ति” राख्ने उद्देश्य अनुरुप संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओ एण्ड एम) प्रक्रियामा रहेको छ । नगरपालिकाको सौन्र्दयता र हरियाली प्रवद्र्धनका लागि श्रम अभियान गर्ने जस्ता चौतर्फी क्षेत्रमा धेरै कामहरु भएका छन्, प्रमुख प्रशसकीय अधिकृत पौडेलले भने ।
चालु आर्थिक बर्षको कूल ९६ करोड ५० लाख रुपैयाँ बजेटमा हालसम्म ३५ प्रतिशत भन्दा बढी वित्तीय प्रगति भएको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत पौडेलले जेनजी आन्दोलनमा क्षतविक्षत भएका पूर्वाधारहरु मर्मतसम्भारको काम अन्तिम चरणमा रहेको बताए । प्रमुख प्रशासकीय अधिकृत पौडेलले चालु आर्थिक बर्षमा कार्यान्यननमा आउने अधिकांस योजनाहरु सम्झौता भईसके, केही योजनाहरु सम्झौताको अन्तिम चरणमा रहेका छन् । चालु आर्थिक बर्षमा कार्यसम्पादनमा जेनजी आन्दोलनले पुर्याएको क्षतीले केही समय अलमलमा पार्यो भने आउँदै गरेको फागनु २१ गतेको प्रतिनिधी सभा सदस्यको निर्वाचनले पनि केही प्रभावित पार्ने देखिन्छ । यद्यपी, समयमै योजना सम्पन्न गर्न कार्यसम्पादनमा कडाई गर्ने रणनीति नगरपालिकाले लिएकोले समयमै अपवाद बाहेकका योजनाहरु सकिनेमा आशावादी रहेको बताए ।




