प्रमुख समाचारलुम्बिनीस्थानीय सरकार

बैशाख भित्र योजना सम्पन्न गर्ने गरी कार्यसम्पादनमा तीब्रता दिंदै रैनादेवी छहरा

पोसकान्त पोखरेल
बुटवल । रैनादेवी छहरा गाउँपालिका पाल्पाले चालु आर्थिक वर्षका विकास योजनाहरू आगामी वैशाख मसान्तभित्रै सम्पन्न गर्ने गरी कार्यसम्पादनमा तीव्रता दिएको छ । विकास निर्माणका कामलाई समयमै टुङ्ग्याएर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माणमा केन्द्रित हुने लक्ष्यका साथ पालिकाले आफ्नो सक्रियता बढाएको हो । गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा विवेक रणपालको आगमनसँगै प्रशासनिक र विकासमूलक कार्यहरूले थप गति लिएका छन् । युवा र जुझारु नेतृत्व पाएपछि कर्मचारी संयन्त्रमा उत्साह थपिएको र सेवा प्रवाहमा समेत सुधार आएको स्थानीयले महसुस गरेका छन् । समयमै काम सम्पन्न गर्दा असारे विकासको प्रवृत्ति अन्त्य हुने र आयोजनाहरूको गुणस्तर समेत सुनिश्चित हुने विश्वास पालिकाले लिएको छ ।

हामीले समयमै योजना सम्पन्न गर्नको लागि आवश्यक रणनीति अवलम्बन गरिसकेका छौं । हामी उपलब्ध श्रोत साधनको उच्चतम् प्रयोग गरेर पालिकाका हरेक कामलाई चुस्त तथा पारदर्शी रुपमा जति सक्दो छिटो सेवा प्रवाह गरी जनतालाई स्थानीय सरकारको अनुभूति दिलाउने गरी कार्यसम्पादन गरेका छौं । कतिपय अवस्थामा प्राकृतिक तथा अन्य विविध कारणले केही समस्याहरु आउने गर्दछन् । वर्तमानको प्रमुख समस्या भनेको कर्मचारीको अभाव हो । कर्मचारीको अभावका बीच पनि जनतालाई गुनासो गर्ने स्थान राखेका छौं जस्तो लाग्दैन । बढी समय बसेर हुन्छ वा एउटा शाखाको कर्मचारीले अर्को शाखाको काम गरेर हुन्छ सकेसम्म छिटो सेवा दिनुनै हाम्रो प्रमुख प्राथमिकता हो । सकेसम्म सिकायत गर्ने ठाउँ राखेका छैनौं । कामको दौरानमा गर्दागर्दै एकआध नहोलान् पनि भन्न सकिंदैन, प्रमुख प्रशासकीय अधिकृत रणपालले भने ।

प्रमुख प्रशासकीय अधिकृत रणपालले चालु आर्थिक बर्षका लागि छुट्याईएका योजनाहरु मध्ये हालसम्म ७५ वटा योजनाहरु सम्पन्न भैसके । दुई सय ४५ वटा योजनाहरु सम्झौता भए । सामाजिक सुरक्षा भत्ताको दोश्रो किस्ता पनि लाभग्राहीको खातामा गईसकेको छ । छिटफुट योजनाहरु सम्झौताको चरणमा छन् । वार्ड वार्डमा गएर एकिकृत घुम्ती सेवा अन्र्तगतका कार्यक्रमहरु पनि सम्पन्न गसिक्यौं । औषधी खरिदको काम पनि सकिएको छ । उपभोक्ता समिति र डेण्डर प्रकृयाबाट हुने योजनाहरु सुरु भैसकेकोले सबैले अलि मिहेनत गरेर एकैपटक कार्यसम्पादन गर्दा चैतको मसान्त सम्म सक्न सक्ने आधारभएतापनि ढिलो गर्ने तर आत्तिएर गर्ने हाम्रो गलत संस्कारलाई निमूर्ल गर्नुपर्ने कुरामा जोड दिए ।

गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालका अनुसार चालु आर्थिक वर्षका लागि कुल ७८ करोड ४२ लाख रुपैयाँको बजेट विनियोजन गरिएको छ । जसमध्ये पुँजीगततर्फको २८ करोड ५९ लाख रुपैयाँ मध्ये हालसम्म २५ प्रतिशत अर्थात् सात करोड ३५ लाख रुपैयाँ वित्तीय प्रगति भइसकेको छ । लेखा अधिकृत बस्यालले योजनाहरूको पारदर्शिता र गुणस्तर कायम गर्न पाँच लाख रुपैयाँभन्दा माथिका सबै योजनाहरू ई–बिडिङ मार्फत ठेक्का प्रक्रियाबाट अगाडि बढाइएको जानकारी गराए । “हाल चालु आर्थिक वर्षका ७५ प्रतिशतभन्दा बढी योजनाहरू कार्यान्वयनको चरणमा अर्थात् ’रनिङ’ अवस्थामा छन्,“ उनले भने, “ठूला योजनाहरू तीव्र गतिमा अघि बढे पनि पाँच लाखभन्दा मुनिका साना योजनाहरू कार्यान्वयनमा भने केही जनशक्तिको अभावले चुनौती सिर्जना गरेको छ ।“

राजस्व र आन्तरिक स्रोतको चुनौती गाउँपालिकाले आन्तरिक स्रोत परिचालनमा पनि विशेष ध्यान दिएको छ । चालु आर्थिक वर्षमा कुल एक करोड दश लाख रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म ५२ लाख ३९ हजार रुपैयाँ संकलन भइसकेको लेखा अधिकृत बस्यालले बताए । यद्यपि, पालिकाको आफ्नै आन्तरिक आम्दानीका स्रोतहरू न्यून रहेका कारण ठूला विकास निर्माण र दीर्घकालीन योजनाका लागि अझै पनि संघीय र प्रदेश सरकारको अनुदानमा निर्भर रहनुपर्ने बाध्यता रहेको उनले उल्लेख गरे । आन्तरिक आम्दानी वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुन पालिकाले सम्भाव्य क्षेत्रहरूको खोजी गरिरहेको समेत बताए ।

वैशाखभित्रै सबै योजनाहरू सम्पन्न गर्ने लक्ष्य भेट्टाउन प्राविधिक टोली र कर्मचारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको छ । यसले गर्दा आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि प्रयाप्त समय मिल्ने र जनताका मागहरूलाई अझ मसिनो गरी सम्बोधन गर्न सहज हुने अपेक्षा गरिएको लेखा अधिकृत बस्यालको बुझाई रहेको छ ।

World Link
Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via