अन्तर्वार्ताअर्थ/व्यापारलुम्बिनी
Trending

“धितो मात्र सुरक्षा होइन, समुदाय नै लघुवित्तको आधार हो”

गोविन्द वाग्ले
प्रमुख कार्यकारी अधिकृत
उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड

२०७० सालमा स्थापना भएको उन्नती सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेड रुपन्देहीको भैरहवामा प्रधान कार्यालय भएको राष्ट्रियस्तरको लघुवित्त वित्तीय संस्था हो । २०ंं७७ सालमा रुपन्देहीको भैरहवामा प्रधान कार्यालय भएको उन्नतीर सर्लाहीको हरिबनमा प्रधान कार्यालय भएको सहकार्य लघुवित्त वित्तीय संस्था सँग मर्ज भएर बनेको उन्नती सहकार्यको हाल चुक्तापुँजी २४ करोड ६८ लाख रुपैयाँ रहेको छ । कूल तीन अर्ब ८३ करोड रुपैयाँ कर्जा लगानी गरेको संस्थाले एक अर्ब २१ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । करिब ७० हजार ग्राहकलाई सेवा दिइरहेको संस्थामा हाल ३३ हजार जना कर्जाग्राही छन् भने ८२ वटा शाखा कार्यालयमा दुई सय ४५ भन्दा बढी कर्मचारीहरुले प्रत्यक्ष रोजगार पाएका छन् । २०८१ चैत्र २८ गते देखि संस्थाको प्रमुख कार्यकारी अधिकृतको भूमिकामा रहनु भएका युवा सिईओ गोविन्द वाग्ले सँग देशको अर्थतन्त्र र वित्तीय क्षेत्रको वर्तमान अवस्थामा आधारित भई दैनिक लुम्बिनीका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको संक्षिप्त सम्पादित अंश :

केही समययता लघुवित्त संस्थाहरु विरुद्धका आवाजहरु धेरै सुनिन्छन् नी, किन होला ?
विगत केही बर्ष देखि देशमा आर्थिक सिथिलता छाएको छ । आर्थिक सिथिलता सँगै व्यवसायमा मन्दी छाएको छ । यहि कारण पनि यस्ता आवाजहरु यदाकदा आईरहेका छन् ।

हिजो ग्रासरुटको विकास गर्ने भनेर धमाधम लघुवित्त संस्था सञ्चालनमा राज्यले अनुमतिदियो तर राज्यको उद्देश्यअनुरुप लघुवित्त संस्थाहरु सञ्चालन हुन नसक्दा वर्तमानमा समस्या त देखिएको होईन ?
पक्कै पनि वित्तीय पहूँचमा अभिबृद्धि गर्ने उद्देश्यले लघुवित्त संस्था सञ्चालनको लागि अनुमति दिर्ईएको थियो । यद्यपि जुन हिसावले विशेष गरी ग्रामिण भेगमा वित्तीय पहूँचमा अभिबृद्धि हुनुपर्ने थियो सोही बमोजिम लघुवित्तको कार्यक्रम विस्तार हुन नसकेको पक्कै पनि हो । संस्थाहरु बढी मात्रामा सहरी र अर्धसहरी क्षेत्रमा केन्द्रीकृत भएको अवस्थालाई नकार्न सकिदैन । यति हुँदाहुँदै पनि लघुवित्तले पुर्याएको योगदान अतुलनिय छ । वर्तमानमा जुन समस्याहरु देखिएका छन् ति समस्याहरु एकै पटक देखिएका होईनन् । ति समस्याहरुमा विगत देखिका संस्थाहरुका काम गर्ने तौरतरिका तथा अभ्यास, राज्यले लिएको नीति तथा उपयूक्त वातावरणको निर्माणमा भूमिका, देशको समग्र आर्थिक तथा राजनैतिक अवस्था, वित्तीय साक्षरताको ज्ञान इत्यादि लगायत धेरै कुराहरुको भूमिका रहेको छ । जहाँ ठुला बैंक तथा वित्तीय संस्थाहरुको पहुँच पुग्दैन त्यहाँ पुगेर लघुवित्त संस्थाहरुले पहुँच बृद्धिमा महत्वपूर्ण भूमिका खेलेका छन् । तर केहि समस्या चाँही पछिल्लो समयमा धेरै लघुवित्त संस्थाहरुको कार्यक्षेत्र एकै ठाउँमा हुँदा, सेवाग्राहीले सबै लघुवित्त संस्थाबाट कर्जा लिन थाल्नुभयो जसले गर्दा उहाँहरुमा कर्जाको भार बढ्दै गयो र कोभिड पश्चात व्यवसायमा सुस्तता देखिएकाले त्यसको परिणाम आजको दिनमा केहि अप्ठेरो भएको कुरा केहि हदसम्म सत्य मान्न सकिन्छ ।

लघुवित्त संस्था बीचको अस्वस्थ प्रतिस्पर्धाले कर्जा दुरुपयोग बढाएको हो त ?
केही हदसम्म त्यो कुुरा पनि स्वभाविक नै मान्न सकिएला । तर हामीले त्यो फ्याक्टरलाई कसरी हेर्नु प-यो भने समग्र रुपमा राज्यको पोलिसी, व्यक्तिको मनोविज्ञान, लघुवित्त संस्था विरुद्धका अराजक गतिविधी, विभिन्न समयमा भएका आन्दोलन, जस्ता धेरै कारणले लघुवित्त संस्थामा केहि अप्ठेरो अवस्थाहरु देखिए । कर्मचारीको सुरक्षा संवेदनशिलताको कारण काम गर्ने कर्मचारीहरुमा मनोवल गिर्न पुग्यो जसले काम गर्ने वातावरणमा पनि ठुलो प्रभाव परेको अवस्था छ । कोभिड पछाडीका विभिन्न घटनाक्रमहरुलाई नियाल्ने हो भने आजको अवस्था आईपुग्न कुनै एक कारण मात्र सोको कारक तत्व नभई धेरै कारणहरु जोडिएका छन् । लघुवित्त संस्थाहरुले शतप्रतिशत राम्रो गरेका छन् भन्ने मेरो दाबीहोईन । कर्जा सदुपयोगका कुरा, लगानी गर्ने कुरामा विचार पु-याउनु पर्छ र पथ्र्यो, मुख्य समस्या धेरै संस्थाको कामगर्ने स्थान एकै ठाउँ हुनु पनिहो । यद्यपि कर्जाको सहि उपयोग हुन नसक्नुमा मुख्य कारणचाहिं देशको लामो समय देखिको आर्थिक संकुचन नै हो ।

ति समस्या समाधानको लागि यहाँहरुले कुनै रणनीतिक कार्यहरु गर्नु भएको छैन ?
वर्तमानमा देखिएका समस्याहरु माथि कसरी आए र कसरी समाधान गर्ने भन्ने कुरामा विभिन्न फोरमहरुमा छलफल हुँदै आएको छ । राष्ट्र बैंकसँग समन्वय गरेर नीति तथा नियम सुधारतर्फ ध्यान दिइएको छ । सुपरीवेक्षणलाई प्रभावकारी बनाइएको छ । आन्तरिक रूपमा संस्थालाई बलियो बनाउने, कार्यक्रमको गुणस्तर सुधार्ने, कर्मचारीको मनोबल बढाउने र सेवाग्राहीसँग सुमधुर सम्बन्धकायम गर्ने रणनीतिमा जोड दिइएको छ । कर्जा अशुली समस्यालाई संवाद र सहकार्यबाट समाधान गर्ने प्रयास भइरहेको छ । अहिलेको अवस्था हेरेर समयको मागअनुसार आन्तरिक रुपमै बलियो भएर चल्नुपर्ने अवस्था छ । सेवाग्राहीका वास्तविक समस्याहरु के हुन त भनेर पहिचान गर्ने जस्ता कार्यहरु हुँदै आएका छन् ।

पछिल्लो समयमा राष्ट्र बैंकले नै सेवाग्राहीलाई सुविधाको लागिकर्जा पुनतालिकिकरण तथा अन्य विभिन्न सहजताको व्यवस्था ल्याएको छ । तर समग्र रुपमा सुरक्षित अवतरणको लागि त देशको राजनीतिक अवस्था स्थिर हुनु जरुरी हुन्छ । लगानी सुरक्षितको वातावरण हुनु जरुरी छ । जबसम्म लगानीमैत्री वातावरण बन्न सक्दैन तबसम्म आर्थिक क्षेत्रमा चुनौतीहरु थपिंदै जान्छन् । अब भनेको लगानी मैत्रीवातावरण निर्माण गरेर अवसर खोज्दै सम्भावनाहरुलाई कार्यान्वयनमा ल्याउनु जरुरी छ । जसले क्रमिक रुपमा पैसा चलायमान हुँदै एक पछि अर्को सम्भावना र अवसरका क्षेत्रहरु खुल्दै जानेछन् ।

अन्य बैंक तथा वित्तीय संस्थाहरुले धितो अनिवार्य राखेर कर्जा प्रवाह गर्ने भएकाले उनीहरुको लगानी तुलनात्मक रूपमा सुरक्षित देखिन्छ । तर लघुवित्त संस्थाहरुले प्रायःविनाधितो कर्जा प्रवाह गर्छन् । यस्तो अवस्थामा लघुवित्तको लगानी कसरी सुरक्षित हुन्छ ? जोखिम व्यवस्थापनको आधार के हो ?
लघुवित्त संस्था नै न्यून सम्पत्ति भएका, औपचारिक बैंकिङ पहुँचबाट बाहिर रहेका वर्गलाई लक्षित गरेर स्थापना गरिएका हुन् । त्यसैले लघुवित्तको जोखिम व्यवस्थापनको आधार धितो मात्र होइन, मानव व्यवहार, सामाजिक उत्तरदायित्व र सामूहिक प्रतिबद्धता हो । राष्ट्र बैंकको व्यवस्था अनुसार कुल कर्जाको एक तिहाइ सम्म धितोमा लगानी गर्न सकिने प्रावधान रहेको छ र हामीले धितो हुने सेवाग्राही सँग धितो राखेरै कर्जा प्रवाह गरेका छौं । साथै धितो नहुने हकमा सामूहिक जमानी, एकाघर परिवारका सदस्यको मञ्जुरीनामा, ऋणिको आय–आर्जन क्षमता, व्यावसायिक योजना र आचरणको गहिरो मूल्याङ्कन गरेर अत्यन्त सावधानी पूर्वक कर्जा प्रवाह गरिन्छ । यस अर्थमा लघुवित्तको सुरक्षा प्रणाली कागजी धितोमा मात्र सीमित नभई समुदायमा आधारित विश्वास, निरन्तर अनुगमन र सामाजिक दबाबमा आधारित हुन्छ । यही मोडेलकै कारण जोखिम हुँदाहुँदै पनि लघुवित्तले दशकौँ देखि वित्तीय पहुँच विस्तार र जनस्तरको आर्थिक सशक्तीकरणमा प्रभावकारी भूमिका खेल्दै आएका हुन् ।

उन्नती सहकार्यले त्यो व्यवस्थालाई कार्यान्वयनमा ल्याएको छ ?
छ, कूलकर्जाको करिब करिब २३ प्रतिशत जति धितो राखेर कर्जा प्रवाह गरेका छौं । राष्ट्र बैंकको पछिल्लो नीतिअनुसार धितो सहित १५ लाख रुपैयाँ सम्म कर्जा प्रवाह गर्न पाउने व्यवस्था रहेको छ । त्यो भन्दा पहिले धितो पनि सात लाख रुपैयाँ र बिना धितो पनि सात लाख रुपैयाँ सम्म कर्जा लगानी गर्न पाउने व्यवस्था थियो । हामी धितो भएको अवस्थामा धितो राखेर र नभएको अवस्थामा बिना धितो नै लगानी गरेको अवस्था छ ।

बिनाधितो कर्जा दिने प्रक्रिया के छ ? लगानी नउठे के गर्ने ?
सामुहिक रुपमा धनजवानी बस्ने, एकाघर परिवारका सदस्यहरुको मन्जुरीनामा लिने, ऋणिको कर्जा तिर्ने क्षमता र आचरणको मूल्याङ्कन गरी धेरै भन्दा धेरै सावधानी अपनाएर कर्जा प्रवाह गर्दछौंं । नियमित रुपमा कर्जाग्राही सँग संवाद गरी समस्या समाधानमा केन्द्रीत हुन्छौ । यति हुँदाहुँदै पनि कर्जा अशुलउपर हुन नसकेको अवस्थामा कानुनी उपचार बाहेकका अन्य विकल्पहरु हामी सँग हुँदैनन् ।

लघुवित्त वित्तीय संस्थाहरुले जनस्तरको आर्थिक सवलीकरणमा कस्तो भूमिका खेलेका छन् ?
लघुवित्त संस्था भनेको वित्तीयपहुँच बृद्धिको लागिग्राहकको घरदैलोमापुगेर सेवादिने संस्थाहरु हुन । विशेष गरेर कतिपय मानिसहरु सँग आईडिया पनि हुँदैन र मैले के गर्न सक्छु भन्ने कुराको सोच पनि नहुन सक्छ । उहाँहरुलाई वित्तीय साक्षरताको माध्यमबाट काम प्रति आधार तयार गरिदिने, व्यवसायमा लाग्नको लागि प्रेरणा दिई लगानी गरिदिने । ग्रामिण भेगमा पीछडिएका वर्गहरुमा ठुला वित्तीय संस्थाहरु सँग पहुँचनहुने हुँदा उहाँहरुलाई सामाजिक, आर्थिक रुपमा धेरै कठिनाईहरु रहेका हुन्छन् । केही गरौं र बिहान साँझको हातमुख घरपरिवारमा खुशीको साथ जोरौं भन्ने हुन्छ । तर सानो पुँजीकै अभावले त्यो पुरा गर्न नसकिरहेको अवस्थामा उहाँहरुका स–साना व्यवसाय तथा कृषिकर्म गरेर जीवनलाई सफल बनाउने चाहना पुरा गर्न वित्तीय पहुँच पुर्याउने कार्य पनि लघुवित्त संस्थाहरुले गरेका छन् । लघुवित्तबाट थोरै कर्जा लिएर प्रगति गरेका उदाहरणहरु हामी सँग धेरै छन् । कर्जा लिनेहरुको त्यो भिडमा कर्जा सदुपयोग नगरेर दुरुपयोग गर्नेहरु पनि छन् । लघुवित्त सम्बन्धी वर्तमानमा धेरै अनावश्यक हल्लाहरु फैलाउनेहरु पनि तीनै हुन । असल व्यक्तिबाट कदापी पनि सत्यताप्रति प्रहार हुन सक्दैन ।

लघुवित्त क्षेत्रका समस्या र राज्यको नीति के छ ?
राज्यको नीति सँग लघुवित्तको तालमेल भएको भए यो प्रकारका समस्याहरु आउने थिएनन् । सरल हिसाबले विष्लेषण गर्नुपर्दा वर्तमान अवस्थामा लघुवित्त प्रति भएका नकारात्मक टिप्पणीहरु हुनुमा धेरै कुराहरुको भूमिका रहेको छ । जब सरकार र देश प्रति जनविश्वास गुम्दछ, मानिसहरुले आफ्नो भविष्य देख्न सक्दैन मानिसहरुको मनोविज्ञानले राम्रो काम गर्न सक्दैन । प्रत्येक व्यक्तिले कानुनी राज्यको आभास गर्न सक्नुपर्छ । तर त्यो अवस्था अत्यन्त न्यून छ । अब संस्थाबाट कर्जा लिएको छ । समयमा कर्जा नतिरेर अशुलीको लागि ताकेता गर्नु पर्छ । तर कर्जा उठाउन जाँदा फर्किदा सकुशल फर्किन्छ कि फकिंदैन भन्ने मनोत्रास आमवित्तीय क्षेत्रमा कार्यरत कर्मचारी वर्गहरुमा रहेको छ । राज्यको पोलिसी यो हुन जरुरी छ की लघुवित्त वित्तीय संस्थाले गलत गरेका छन् भने उनीहरुलाई पनि कडाभन्दा कडा कारवाही गर्नुपर्छ । होईन भने कर्जा लिएपछि तिर्नुपर्छ भन्ने मान्यताको राज्यले नागरिकलाई दायित्वबोध गराउनु जरुरी देखिन्छ ।

प्रसँग बदलौं, अहिले देशकै अर्थतन्त्रमा केही समस्या देखिन्छ । समस्या देखिनुलाई वित्तीय क्षेत्रले उत्पादनमूलक क्षेत्रमा लगानी कम गर्दाको परिणामको रुपमा लिन मिल्छ ?
केहीहद सम्म सत्य हो । विगतमा उत्पादनशील क्षेत्रमा जानुपर्ने पुँजी ठूलो मात्रामा घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा केन्द्रित भयो । घरजग्गाको कारोबार चलायमान हुँदा पैसा घुमिरहे जस्तो देखिएपनि त्यो दीर्घकालीन रूपमा अर्थतन्त्रका लागि स्वस्थ्य थिएन । जब रियलस्टेट सुस्तायो, पैसा त्यहीँ डम्प भएर बस्यो, जसको प्रत्यक्ष असर उद्योग, कृषि, रोजगारी र समग्र आर्थिक गतिविधिमा पर्न गयो । बैंक तथा वित्तीय संस्थाको लगानी पनि बढी मात्रामा रियलस्टेटमा केन्द्रित हुँदा जोखिम एकै ठाउँमा जम्मा भयो, जसले अहिलेको आर्थिक संकुचनलाई थप गहिरो बनाउन पुग्यो । जसले देशमै केही गरौं भन्ने सोच हराउँदै जाँदा युवावर्गलाई बैदेसिन बाध्य बनायो ।

मुख्य कारण चाहीं के मान्न सकिन्छ ?
लगानी मैत्रीवातावरणको अभावनै प्रमुख हो । देशमै बसेर केही गरौँ भन्ने चाहना हुँदाहुँदै पनि नीति, अस्थिरता, लगानी असुरक्षा, रोजगारीको अनिश्चितता र भविष्य प्रतिको अन्योलले युवाहरुलाई निरुत्साहित बनाएको पाईन्छ । राज्यको नीति प्रभावकारी रूपमा कार्यान्वयन हुन नसक्दा युवामा भरोसा घट्दै जानुको परिणामको रुपमा हेर्न सकिन्छ ।

समस्याहरु एकैपटक देखिएका हुन् त ?
होइन,यी समस्याहरु दीर्घकालीन अभ्यास, नीतिगत कमजोरी, कार्यशैली र पछिल्ला घटनाक्रमहरुको परिणाम हुन् । कोभिड पछिका आर्थिक झट्का, राजनीतिक अस्थिरता र सामाजिक मनोविज्ञानले आजको अवस्था सिर्जना गरेका कारक तत्वहुन् ।

सुरक्षित अवतरणका लागि अब के आवश्यक छ ?
राजनीतिक स्थिरता, लगानी मैत्रीवातावरण र नीतिगत स्पष्टता अपरिहार्य छ । लगानी सुरक्षित हुने वातावरण बनेपछि मात्रै पुँजी चलायमान हुन्छ । नयाँ सम्भावना र अवसरका क्षेत्र खुल्छन् । यही बाटोले मात्र अर्थतन्त्रलाई क्रमिक रूपमा पुनर्जीवित गर्न सकिन्छ । देशको आर्थिक अवस्था पनि गम्भिर हुनु, लघुवित्त विरुद्धका गतिविधीहरु हुनुले समग्र लघुवित्त क्षेत्रलाई अप्ठ्यारोमा पारेको अवस्था हो । पछिल्लो समयमा बढी समस्या भनेको कर्जा अशुलीमा रहेको छ । त्यसका लागि सेवाग्राही सँग अशल सम्बन्ध कायम गरेर सम्बन्धलाई सुमधुर बनाएर कार्यक्रमहरु सञ्चालन गर्नु पर्नेमा राष्ट्र बैंकको पनि जोड रहेको छ । हामीहरु पनि कसरी सञ्चालित हुँदा सबैको हीत हुन्छ भन्ने कुरामा जोड दिएका छौं । कर्मचारीहरुलाई मोटिभेसन गर्ने र ग्राहक सँग असल सम्बन्ध कायम गरी कार्यक्रम सञ्चालन गर्ने कुरालाई हामिले जोड दिएका छौ । सवै पक्षको सामूहिक प्रयासबाट छिट्टै एउटा सहजतामा पुगिन्छ । दैनिक लुम्बिनी पत्रिकामा २०८२ पौष १७ गते प्रकाशित अन्र्तवार्ता

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Share via