“असीमित जनअपेक्षा र सीमित श्रोत साधनका बीच प्राथमिकताका आधारमा योजना कार्यान्वयन गर्ने गरेका छौं”

मधुकृष्ण पौड्याल
प्रमुख प्रशासकीय अधिकृत, देवदह नगरपालिका, रुपन्देही
गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वडा नं ३ हर्दिनेटा (साविक हर्दिनेटा गा वि स वडा नं १) मा जन्मनु भएका मधुकृष्ण पौड्याल हाल देवदह नगरपालिका रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत हुनुहुन्छ । २०६९ प्यूठान जिल्लाको कोष तथा लेखा नियन्त्रक कार्यालयमा सह लेखापालको पदमा नियुक्ति तथा जिल्ला हुलाक कार्यालय प्यूठानमा पदस्थापना भई निजामती सेवामा प्रवेश गर्नु भएका पौडेलले तत्पश्चात जिल्ला हुलाक कार्यालय रौतहटमा नायब सुब्बा हुँदै २०७३ सालमा खुल्ला प्रतिष्पर्धाबाट छनोट भई शाखा अधिकृतमा पदोन्नती हुनुभएको थियो । शाखा अधिकृतको रुपमा रहँदा अधिकांस अवधि स्थानीय तहमा कार्यकारी अधिकृत हुँदै प्रमुख प्रशासकीय अधिकृतका रुपमा काम गर्ने अवसर प्राप्त गर्नुभएका पौड्यालले केही समय नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत प्रशासकीय अधिकृतको रुपमा जिल्ला प्रशासन कार्यालय डोटीमा सेवा सेवा समेत गर्नुभयो । २०८१ सालमा आन्तरिक प्रतिष्पर्धाबाट उपसचिव पदमा पदोन्नती भई लुम्बिनी प्रदेश सरकार मातहत केही अवधी कार्यसम्पादन पौड्यालले विगत आठ महिनादेखि देवदह नगरपालिका रुपन्देहीमा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कार्यरत हुनुहुन्छ । दीर्घकालिन महत्वका योजनाहरु कार्यान्वयनमा ल्याउन विशेष जोड दिने देवदह नगरपालिका, रुपन्देहीका प्रमुख प्रशासकीय अधिकृत मधुकृष्ण पौड्याल सँग आर्थिक दैनिकका लागि पोसकान्त पोखरेलले गरेको कुराकानीको सम्पादित संक्षिप्त अंशः
देवदहमा ठूलो संख्यामा पुर्जा नभएका जग्गाहरु छन् । उक्त क्षेत्रमा वैधानिकता दिन वा लालपुर्जा वितरण प्रक्रियालाई गति दिन नगरपालिकाले हालसम्म के–कस्ता ठोस कदम चालेको छ ?
देवदह नगरपालिका क्षेत्रमा रहेका जग्गाधनी प्रमाण पूर्जा विहिन नागरिकहरुलाई पूर्जा वितरणका लागि भूमी समस्या समाधान आयोगले आफ्नो काम अगाडी बढाइरहेको छ । हालसम्म अव्यवस्थित वसोबासीहरुको लागि ७८६ वटा पूर्जा वितरण भैसकेको छ भने आवेदन संकलन १६२८६ र १२५० हेक्टर जग्गा नापजाँच भैसकेको छ । यसमा नगरपालिकाले आफैले करारमा जनशक्ति तथा अन्य सामग्री समेतको व्यवस्थापन गरी नापजाँच तथा तथ्याङ्क संकलन विवरण तयारी तीव्रताका साथ गरिरहेको छ ।
जग्गाको निस्सा पाएका तर पुर्जा नपाएका नागरिकका लागि तिरो (कर) व्यवस्थापन र बैंकिङ कारोबारमा सहजीकरणका लागि नगरपालिका कसरी अगाडी बढेको छ ?
जग्गाको निस्सालाई आधार मानेर भूमीकर निर्धारण गरिएको छ भने सोही कर तिरेको रसिदका आधारमा काम कारवाही अगाडी बढिरहेको अवस्था छ । बैकिङ कारोबारका लागि घरहरुको हकमा अभिलेखिकरण गराई सोही बमोजिम नै सहजीकरण भैरहेको छ ।
गौतम बुद्धको मावली स्थलको रूपमा विश्वभर परिचित देवदहलाई लुम्बिनी परिपथ Lumbini Circuit सँग जोडेर पर्यटकको बसाइ लम्ब्याउन कति सम्भव छ र त्यसका लागि नगरपालिकाले के कस्ता कार्यहरु गरेको छ ?
देवदह नगरपालिकाले यस क्षेत्रलाई गौतम बुद्धको मावली स्थलको रुपमा ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पुरातात्विक महत्व समेतलाई विकास गर्न बुद्ध परिपथका अन्य नगरपालिकाहरु सँगको सहकार्यमा विश्वमा समेत प्रचार प्रसार गरिरहेको छ भने पर्यटकीय स्थलका रुपमा विकास गरी लुम्बिनी आउने पर्यटकहरुलाई यस क्षेत्रमा भित्र्याउने र बसाई लम्ब्याउने गरी विभिन्न पुरातात्विक क्षेत्रहरुको उत्खनन तथा संरक्षण र पूर्वाधार विकासका लागि एशियाली विकास बैंकको ऋण अनुदानमा शहरी उत्थानशीलता तथा जीवनयापन सुधार आयोजना संचालनमा रहेको छ भने विश्व बैंकको ऋण सहयोगमा वृहत लुम्बिनी क्षेत्र विकास आयोजनाको सम्बन्धमा छलफल तथा आयोजना स्वीकृतिको चरणमा रहेको छ ।
पुरातात्विक क्षेत्रहरूको संरक्षण र उत्खननमा संघीय सरकार र लुम्बिनी विकास कोष सँग नगरपालिकाको समन्वय कत्तिको छ ?
यस देवदह क्षेत्रका पुरातात्विक क्षेत्रहरुको उत्खनन तथा संरक्षणमा संघीय सरकारको खासै चासो रहेको देखिँदैन तर नगरपालिकाको आफ्नै लगानीमा लुम्बिनी विकास कोषको सहयोगमा विभिन्न स्थानमा उत्खननका कार्यहरु भएका छन् ।
नगरपालिकाको दीर्घकालीन गुरुयोजनाका मुख्य प्राथमिकताहरू के–के छन् ? बजेट कार्यान्वयनमा मुख्य बाधक बनेका तत्वहरू छन् कि छैनन्् ?
खास गरी नगरपालिकाका प्राथमिकताका क्षेत्रहरु स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधार नै हुन । तर बजेट तथा योजनाका आधारमा हेर्नेहो भने पूर्वाधार प्रथम स्थानमा देखिन्छ । बजेट तर्जुमामा सामाजिक तथा आर्थिक क्षेत्रमा भन्दा पूर्वाधारको क्षेत्रमा बढि विनियोजन तथा खर्च हुने गरेको देखिन्छ ।
पछिल्लो समय देवदहमा बढ्दो सहरीकरण सँगै फोहोरमैला व्यवस्थापन मुख्य चुनौती बनेको छ । यसको दिगो समाधानका लागि नगरपालिकाले के गरेको छ ?
शहरीकरण बढ्दै जानु विकसित मूलुकको विभिन्न सूचकहरु मध्येको सूचक पनि हो तर सँगसँगै विभिन्न चुनौतिहरु पनि थपिने हुन्छ नै । फोहोरमैला व्यवस्थापनको दीगो समाधान सायद एक मात्र स्थानीय तहको एकल प्रयासले सम्भव पनि हुँदैन । यसको लागि कम्तिमा पनि सिमाना जोडिएका पालिकाहरु र समग्रमा जिल्लाभित्र वा अन्तरजिल्ला समेतका पालिकाहरु सँगको सहकार्य आवश्यक देखिन्छ । देवदह नगरपालिकाले हाललाई अस्थायी रुपमै व्यवस्थापन गरिरहेको छ ।
विकास निर्माणका काममा हुने ढिलासुस्ती र गुणस्तरहीनतालाई रोक्न नगरपालिकाले अनुगमन संयन्त्रलाई कसरी प्रभावकारी बनाईएको छ ?
नगरपालिकाले आफूले कार्यान्वयन गर्दै आएका विकास निर्माण लगायतका अन्य कार्यक्रमहरुको अनुगमनको लागि नगर उपप्रमुखको संयोजकत्वमा रहने अनुगमन तथा मूल्याङ्कन समिति नै सक्रिय रहेको छ । यसले निरन्तर अनुगमन गर्दछ । गुणस्तरीय निर्माणका लागि नगरपालिकाले आफ्नै ल्याब स्थापना गरी ल्याब परीक्षणका आधारमा गुणस्तरमा कमी देखिएमा सुधार्न लगाउने गरेको छ ।
स्थानीय युवाहरूलाई रोजगारी सृजना गर्न र कृषि क्षेत्रको व्यावसायिकी करणका लागि नगरपालिकाले कस्ता कार्यक्रमहरु ल्याएको छ ?
विभिन्न प्रकारका सीपमूलक तालिमहरु संचालन गर्दै कृषि क्षेत्रमा आधुनिकीकरण, यान्त्रिकरणका लागि कृषकहरुको आवश्यकता र मागका आधारमा विभिन्न प्रकारका आधुनिक कृषियन्त्र उपकरणहरु, विउ विजनहरु उपलब्ध गराउँदै आएको छ ।
नगरपालिकाको बेरुजु अधिक देखिन्छ । आर्थिक अनुशासन कायम गर्न नसक्नु र असारे विकासमा बजेट सिध्याउने प्रवृत्तिलाई रोक्न कस्ता कदमहरु चाल्नु भएको छ ?
आर्थिक अनुशासन कायम गर्न नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली तर्जुमा गरी कार्यान्वयन गरिरहेको छ भने नगरसभामा समेत लेखा समिति रहेको छ । असारमा विकास बजेट सिध्याउने प्रवृत्ति नेपालकै रोग जस्तो देखिएको छ । समयमा काम सकिएर पनि भुक्तानीको लागि ढिला फाइल पेश गर्दा पनि बजेट खर्च अन्तिम चौमासिकमा बढि हुने गरेको देखिएको छ । यसलाई एकैपटकमा निर्मूल पार्न नसकिने भएकोले उपभोक्ता समितिले गर्ने कार्यहरुलाई समय सीमा तोकेर सम्झौता गराई कार्यान्वयन गर्ने र ठेक्काबाट सम्पादन गर्ने कार्यहरुलाई प्रथम चौमासिक भित्र बोलपत्र सम्बन्धी कामहरु गरिसक्ने गरी अगाडि बढेका छौं ।
नगरपालिकाका सूचनाहरू पारदर्शी छैनन् । सूचनाको हक प्रयोग गर्दा पनि विवरण पाउन कठिन छ भन्ने जनगुनासो सुनिन्छ त्यसको वास्तविकता के हो ?
वास्तविकता त्यस्तो होइन । सूचना मागेको विषयमा उपलब्ध गराउन सकिनेमा उपलब्ध गराउँदै आएको छ भने कतिपय सूचना माग्ने वित्तिकै विवरण तयार गर्न नसकिने भएकोले केही ढिला भएको हुन सक्छ तर नदिएको भन्ने चाँहि सत्य होइन ।
बुटवलको छिमेकी हुनुको लाभ देवदहले लिन सकेको पाईदैन । देवदह केवल बुटवलको ‘आवासीय डम्पिङ’ मात्रबन्दै गएको छ, यहाँको आफ्नै पहिचान र व्यवस्थित सहरीकरणका लागि तपाईँको योजनाके छ ?
बुटवलको छिमेकी हुनुको नाताले प्राप्त हुने लाभ यस देवदहले लिइ नै रहेको छ । बजार, स्वास्थ्य सेवा सुविधाहरु, यातायात, रोजगारी, उद्योग जस्ता क्षेत्रहरुमा यस नगरपालिकाले लाभ लिइरहेको छ । यो क्षेत्र बुटवलको आवासिय डम्पिङ्ग होइन नजिकको राम्रो र उपयुक्त विकल्प बनिरहेको छ । नयाँ सहरको विकास हुने क्रममा रहेकोले यस क्षेत्रलाई व्यवस्थित सहर बनाउन भवन संहिता पालना, फराकिला, चौडा तथा उज्याला सडक, खानेपानी, विद्युत जस्ता सेवाहरु, नगर अस्पताल सहितका स्वास्थ्य सेवाहरु उपलब्ध गराउँदै नगरपालिका अगाडी बढेको छ ।
धेरै स्थानीय तहहरुमा योजना छनौट गर्दा पहुँचवाला र नेताका खल्तीका योजनालाई प्राथमिकता दिने तर वास्तविक आवश्यकतालाई लत्याउने गरेको जनगुनासो सुनिन्छ देवदहमा त्यसको अवस्था कस्तो ?
योजना छनौट पक्कै पनि आवश्यकता र मागका आधारमा नै हुने हो । यस नगरपालिकामा पनि त्यसै अनुरुप नै वस्तीस्तरबाट योजना छनौट हुँदै कार्यपालिका तथा नगरसभामा पुगेर टुङ्गिन्छ । पहुँचको भरमा योजना छनौट हुनु र टुक्रे योजनामा बजेट विनियोजन हुनु समग्रमै समस्या हो जस्तो लाग्छ ।
डिजिटल सेवामा नगरपालिकाको प्रगति के कस्तो छ ?
नगरपालिकाले आफ्ना सूचनाहरु वेभसाइटमा अद्यावधिक गर्ने गरेको छ । राजश्व संकलन पूर्ण रुपमा विद्युतीय माध्यमबाट अनलाइन प्रणालीमा हुने गरेको छ भने करदाताले क्यूआर स्क्यान गरी कर तिर्न सक्ने व्यवस्था मिलाएको छ । भुक्तानी पूर्ण रुपमा बैंकिङ प्रणालीमा आवद्ध रहेको छ ।
प्रशासनिक प्रमुखको हैसियतले काम गर्दा सीमित स्रोत–साधन र असीमित जनअपेक्षा बीचको सन्तुलन मिलाउन कति कठिन छ ?
स्थानीय तहमा आफ्नो कार्य सम्पादन गर्नुको सौन्दर्यता नै यही हो कि कतिपय विषयहरु आम नागरिकलाई समय दिएर ध्यानपूर्वक समस्या तथा माग सुन्दा पनि धेरै हदसम्म समाधान गर्न सकिन्छ । वास्तवमा आम नागरिकका अपेक्षाहरु असिमित छन तर प्राथमिकता निर्धारण गरी तत्कालको आवश्यकता सम्बोधन गर्न सके नागरिकलाई खुसी पार्न सकिन्छ ।
अन्त्यमा, देवदहलाई विकसित सहरको रुपमा स्थापित गर्न यहाँका योजना के के छन् ? नागरिक र सरोकारवाला सँगतपाईँको के अपेक्षा छ ?
भू–उपयोग योजना सहित व्यवस्थित वस्ती विकास, कृषियोग्य भूमीको संरक्षण तथा उपयोग, सुन्दर, सफा, फराकिला, उज्याला सडक, फोहरको उचित व्यवस्थापन तथा उद्यमशिलता विकास र रोजगारी सिर्जना नै विकसित सहरका सूचकहरु हुन् । ती सूचकहरुको विकासको क्षेत्रमा आफ्नो ज्ञान, सीप, क्षमता तथा समय लगाउने गरी आफूले काम गर्ने योजना रहेको छ । यस कार्यमा देवदह बासी सम्पूर्ण नागरिकहरु तथा सम्पूर्ण सरोकारवालाहरुको पूर्ण सहयोगका साथै हाल नगरपालिकाले सम्पादन गरिरहेको कार्यहरुको सम्बन्धमा विकाउ मात्र नभई टिकाउ हुने खालको आलोचनात्मक तथा रचनात्मक सुझावको अपेक्षा गर्दछु ।




