नेपाल राष्ट्र बैंकद्वारा तीन वाणिज्य बैंकमाथि कडा कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक, बैंक सुपरिवेक्षण विभागले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रयमासको निरीक्षणका क्रममा नियमविपरीत कार्य गर्ने तीनवटा ठूला वाणिज्य बैंकहरूलाई कारबाही गरेको छ । केन्द्रीय बैंकले एन आई सी एशिया बैंकलाई नगद जरिवाना गरेको छ भने ग्लोबल आइएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेघा बैंकका नेतृत्वलाई सचेत गराएको छ ।
एन आई सी एशिया बैंकका अध्यक्ष र सीईओलाई नगद जरिवाना
केन्द्रीय बैंकको निर्देशन बारम्बार उल्लंघन गरेको भन्दै एन आई सी एशिया बैंकमाथि सबैभन्दा कडा कारबाही भएको छ । राष्ट्र बैंकले जारी गरेको लिखित आदेशको समेत पालना नगरेको र नियमविपरीत वित्तीय विवरणहरू प्रकाशन गरेको पाइएकाले तत्कालीन सञ्चालक समिति अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सिईओ) रोशन कुमार न्यौपानेलाई जनही २÷२ लाख रुपैयाँ नगद जरिवाना गरिएको छ । यो कारबाही नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० बमोजिम गरिएको राष्ट्र बैंकले जनाएको छ ।
ग्लोबल आइएमई बैंकमाथि प्राविधिक कैफियतको आरोप
ग्लोबल आइएमई बैंकको स्थलगत निरीक्षणका क्रममा कोर बैंकिङ सफ्टवेयरमा गम्भीर प्राविधिक त्रुटि फेला परेको छ । चुक्ता भइसकेको कर्जालाई पुरानै मिति (Back Value Date) राखी पुनः सिर्जना गर्न सकिने अवस्था रहेको पाइएको र पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको भन्दै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ । बैंकले एकीकृत निर्देशन अनुसार कर्जाको वर्गीकरण र पुनरतालिकीकरण नगरेको पनि राष्ट्र बैंकको ठहर छ ।
नेपाल इन्भेष्टमेन्ट मेघा बैंकलाई ब्याजदर र कागजी प्रक्रियामा सचेत
यस्तै, नेपाल इन्भेष्टमेन्ट मेघा बैंक लिमिटेड (NIMB) ले पनि विभिन्न नियामकीय निर्देशनहरूको पालना नगरेको पाइएको छ । बैंकले ग्राहकको हस्ताक्षर बिना नै कर्जा कागजातहरू तयार पारेको, सुरक्षणले खामेभन्दा बढी कर्जा प्रवाह गरेको र एउटै प्रकृतिका कर्जाहरूमा २ प्रतिशतभन्दा बढी ब्याजदर अन्तर कायम गरेको पाइएको छ । यसका साथै चालू पुँजी कर्जा मार्गदर्शनविपरीत त्रयमासको अन्त्यमा नयाँ अल्पकालीन कर्जा प्रवाह गरी कर्जा असुलीमा प्रयोग गरेको देखिएकाले बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ ।




