जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीद्वारा पौने पाँच करोड रुपैयाँ राजस्व संकलन

पोसकान्त पोखरेल
बुटवल । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले गत आर्थिक बर्ष २०८१÷८२ सालमा झण्डै पौने पाँच करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । कार्यालयका प्रहरी नायव निरीक्षक दुर्गादत्त भट्टले उपलब्ध गराएको कार्यालयको तथ्याङ्क अनुसार कार्यालयले गत आर्थिक बर्ष कार्यालयले आफ्नो कार्यक्षेत्र अन्र्तगत चार करोड ७९ लाख नौं हजार रुपैयाँ राजस्व संकलन गरेको छ । उक्त राजस्व संकलन मध्ये २० हजार नौं सय ४३ वटा ट्रक÷टिप्परलाई कारवाही गर्दा तीन करोड ६० लाख १५ हजार रुपैयाँ, एक हजार एक सय चार वटा बसहरुको कारवाहीबाट आठ लाख ४७ हजार पाँच सय रुपैयाँ, चार हजार सात सय ६६ वटा कार, जीप, भ्यानहरुको कारवाहीबाट ३२ लाख ६४ हजार रुपैयाँ, दुई सय ४४ वटा ट्याक्टरहरुको कारवाहीबाट एक लाख ९२ हजार रुपैयाँ, सात हजार आठ सय ३५ वटा मोटरसाईकलहरुको कारवाहीबाट ५८ लाख ७१ हजार रुपैयाँ र एक हजार चार सय ६४ वटा अन्य सवारी साधनहरुको कारवाहीबाट १७ लाख १९ हजार पाँच सय रुपैयाँ गरी उक्त राजस्व संकलन गरेको हो ।
कार्यालयको तथ्याङ्क अनुसार कार्यालयले गत आर्थिक बर्षको साउन महिनामा ३० लाख पाँच सय रुपैयाँ, भदौंमा ४७ लाख ५७ हजार रुपैयाँ, असोजमा ५५ लाख १६ हजार पाँच सय, कार्तिकमा ३० लाख ७६ हजार रुपैयाँ, मंसिरमा ४३ लाख १८ हजार रुपैयाँ, पुषमा ३२ लाख १४ हजार पाँच सय रुपैयाँ, माघमा ३७ लाख १२ हजार रुपैयाँ, फागुनमा ४० लाख २४ हजार पाँच सय रुपैयाँ, चैतमा ४३ लाख ३६ हजार रुपैयाँ, बैशाखमा ३९ लाख पाँच सय रुपैयाँ, जेष्ठमा ४४ लाख ८४ हजार रुपैयाँ र असारमा ३५ लाख ६९ हजार पाँच सय रुपैयाँ राजस्व संकलन गरेको छ ।
नायब निरीक्षक भट्ले कार्यालयले अघिल्लो आर्थिक बर्ष ३९ हजार चार सय ६० वटा सवारी साधनहरुको कारवाहीबाट २०८०/८१ सालमा तीन करोड ६९ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको जानकारी गराउँदै आर्थिक बर्ष २०८०/८१ सालको तुलनामा आर्थिक बर्ष २०८१/८२ सालमा एक करोड नौं लाख २७ हजार रुपैयाँ राजस्व संकलन बढी गरेको छ । आर्थिक बर्ष २०८०/८१ मा ३९ हजार चार सय ६० वटा सवारी साधनहरु कारवाहीमा परेकोमा आर्थिक बर्ष २०८१/८२ मा ३६ हजार तीन सय ६० वटा सवारी साधन कारवाहीमा परेका छन् । दुबै आर्थिक बर्षको कारवाहीको तुलना गर्दा गत आर्थिक तीन हजार एक सय चार वटा सवारी साधन कम कारवाहीमा परेका छन् । कारवाही संख्या कम हनु तर राजस्व बढी संकलन हुनुमा पट्के कारवाही प्रमुख हो । यो कारवाहीमा पहिलो पटक पाँच सय दोश्रो पटक एक हजार र तेश्रो पटक एक हजार पाँच सय रुपैयाँ जरिवाना लिईने हुँदा पट्के कारवाहीमा संख्या बृद्धि हुँदा राजस्वमा बृद्धि भएको बताए ।




