देशभर बैंकिङ सञ्जालको शाखा संख्या ११ हजार पाँच सय भन्दा बढी
पोसकान्त पोखरेल
बुटवल । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ पहिलो चौमासको समीक्षागत तथ्याङ्कले मुलुकभर बैंकिङ सञ्जालको विस्तार र बैंकहरूको पुँजीगत अवस्था सन्तोषजनक रहेको देखाएको छ । कात्तिक मसान्तसम्मको उक्त समीक्षा प्रतिवेदनअनुसार नेपालमा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरूको संख्या र विस्तारित शाखाहरुले वित्तीय पहुँचमा नयाँ उचाई कायम गर्न सफल भएको छ । २०८२ कात्तिक मसान्त सम्ममा नेपालमा एक सय सात वटा इजाजतपत्रप्राप्त बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । जसमा वाणिज्य बैंक २०, विकास बैंक १७, वित्त कम्पनी १७, लघुवित्त वित्तीय संस्था ५२ र पूर्वाधार विकास बैंक एक वटा रहेको छ । यि सबै वित्तीय संस्थाहरुको देशभर शााखा सञ्जालको संख्या ११ हजार पाँच सय १६ पुगेको छ । नागरिकहरूको बैंकिङ प्रणालीमा आकर्षण पहुँच बढ्दै जाँदा निक्षेप खाताको संख्या छ करोड आठ लाख ७१ हजार पुगेको छ भने कर्जा खाताको संख्या १९ लाख ९४ हजार रहेको छ ।
राष्ट्र बैंकको उक्त प्रतिवेदनअनुसार बैंक तथा वित्तीय संस्थाहरूको पुँजीगत अवस्था जोखिम बहन गर्न सक्ने गरी सुरक्षित देखिएको छ । ’क’, ’ख’ र ’ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूको औसत प्राथमिक पुँजी र पुँजीकोषको जोखिम भारित सम्पत्तिको अनुपात क्रमशः ९.८० प्रतिशत र १२.८९ प्रतिशत कायम भएको छ । यसले नेपाली बैंकहरू अन्तर्राष्ट्रिय मापदण्ड र राष्ट्र बैंकको निर्देशन अनुसार पर्याप्त पुँजी कायम गर्न सफल भएको देखाएको छ ।
त्यस्तै, निक्षेप र तरलताको अवस्था समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.१ प्रतिशत अर्थात २२२ अर्ब ३८ करोड रुपैयाँले वृद्धि भई कुल ७४८६ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कुल निक्षेपमा मुद्दती निक्षेपको हिस्सा ४५.६ प्रतिशत र बचत निक्षेपको हिस्सा ३९.२ प्रतिशत रहेको छ । बैंकहरूको खुद तरल सम्पत्ति र निक्षेपको अनुपात ३५.१६ प्रतिशत रहेको छ, जसले बैंकहरूसँग लगानीका लागि पर्याप्त नगद मौज्दात रहेको पुष्टि गरेतापनि निष्क्रिय कर्जा र आगामी चुनौती वित्तीय सूचकहरू बलियो देखिए पनि बैंकहरूको निष्क्रिय कर्जा (NPL) मा भने चाप देखिएको छ । २०८२ असोज मसान्तको तथ्याङ्कअनुसार निष्क्रिय कर्जा अनुपात ५.२६ प्रतिशत पुगेको छ । यद्यपि, बैंकहरूसँग रहेको विदेशी विनिमय सञ्चितिले १७.४ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने सहज अवस्था रहेकाले बाह्य क्षेत्रको चाप बैंकिङ प्रणालीमा कम नै देखिएको छ ।
पछिल्लो समयमा बैंकहरूमा तरलता अधिक भएकै कारण ब्याजदरमा उल्लेख्य गिरावट आएको छ । २०८१ कात्तिकमा ७.०२ प्रतिशत रहेको वाणिज्य बैंकहरूको औसत आधार दर अहिले ५.४४ प्रतिशतमा झरेको छ । यसैगरी विकास बैंकहरूको ७.७४ प्रतिशत र वित्त कम्पनीहरूको ८.३९ प्रतिशत आधारदर कायम भएको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कले बैंकहरू भौतिक रूपमा मात्र नभई पुँजीगत रूपमा पनि सबल हुँदै गएको देखाउँछ । निष्क्रिय कर्जामा केही सुधार गर्नुपर्ने आवश्यकता रहेतापनि पर्याप्त तरलता र न्यून ब्याजदरले आगामी दिनमा लगानीको वातावरण अझ सहज हुने संकेत गरेको छ ।

