आधुनिकताको भिडमा हराउँदै गरेको गाउँ : याद, बाध्यता र समृद्धिको एउटा जीवन्त बहस

कमल पोखरेल
गाउँ भन्ने बित्तिकै धेरैले नाक खुम्च्याउने आधुनिक समयमा पनि गाउँलाई मुटुमा सजाउनेहरूको कमी छैन । पछिल्लो समय शहरिया भिडभाड र प्रदूषित खानपानबाट आजित भएका मानिसहरूका लागि गाउँको अर्गानिक स्वाद र स्वच्छ हावापानी एउटा निर्विकल्प गन्तव्य बन्न थालेको छ । गाउँका कृषि उपजहरूको माग शहरमा यसरी बढ्दो छ कि, मानिसहरू ‘गाउँको उत्पादन’ भन्ने बित्तिकै मरिहत्ते गर्छन् । संघीयताको कार्यान्वयनसँगै स्थानीय तहहरूले कृषिमा ल्याएका केही उत्साहजनक कार्यक्रमले गर्दा, सानो संख्यामा भए पनि शहरबाट गाउँ फर्किएर व्यावसायिक कृषिमा लाग्ने लहर सुरु भएको छ । यसले ग्रामीण अर्थतन्त्रलाई सुदृढ मात्र बनाएको छैन, गाउँप्रतिको दृष्टिकोणमा समेत सकारात्मक परिवर्तन ल्याएको छ ।

गाउँ केवल एउटा भौगोलिक इकाइ मात्र होइन, यो त आत्मीयता, भाइचारा र मानवीय संवेदनाको एउटा बलियो खम्बा हो । जहाँ स्वच्छ हावापानीसँगै मानिसहरूको मन पनि सफा र मिलनसार हुन्छ । दुःखको समयमा छिमेकीको ढोका ढकढक्याउनु नपर्ने, आँखाको इसारामा सहयोगको हात अघि बढ्ने गाउँको त्यो मौलिक संस्कार आजका कंक्रिटका जंगलहरूमा कहाँ पाउनु ? तर, बिडम्बना ! वैदेशिक रोजगारी र रेमिट्यान्सको बढ्दो प्रभावले ग्रामीण जीवनको स्वरूप बदलिदिएको छ । राम्रो शिक्षा, स्वास्थ्य र आधुनिक सुविधाको खोजीमा युवा पुस्ता तराई र शहरतर्फ केन्द्रित हुँदा गाउँहरू बिस्तारै रित्तिँदै छन् । खेतीयोग्य जमिनहरू बाँझो हुँदै गएका छन् भने बुढापाकाहरू मात्र कुरेर बसेका गाउँहरूले आफ्ना सन्तानको बाटो हेरिरहेका छन् । यो रहरभन्दा बढी अवसरको खोजीमा उब्जिएको एउटा गम्भीर बाध्यता हो ।

शहरमा बसेर अथाह सम्पत्ति र सुविधा भोगिरहेका मानिसहरूलाई पनि आफ्नो बाल्यकालको त्यो गाउँले जतिबेला पनि झस्काइरहन्छ । महँगा गाडीमा सयर गर्ने र विश्वका विकसित देशहरू घुमिसकेका सम्भ्रान्तहरूलाई पनि “सबैभन्दा बढी कुन ठाउँ याद आउँछ ? भनेर सोध्दा, उनीहरूको एउटै उत्तर हुन्छ– “मेरो जन्मभूमि, जसले मलाई संस्कार र संघर्ष सिकायो ।” वास्तवमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी’ को मर्म गाउँ पुगेपछि मात्र अनुभूत हुन्छ । मेरो नजरमा गाउँ त्यस्तो ठाउँ हो जहाँ पेशाभन्दा बढी सेवालाई, आधुनिकताभन्दा परम्परालाई र कृत्रिमताभन्दा अर्गानिकपनलाई महत्व दिइन्छ । पसिनाको पोखरीमा पौडी खेल्दै सामाजिक काममा रमाउने गाउँलेहरूको निस्वार्थ भावना नै हाम्रो सभ्यताको असली जग हो ।

ऐतिहासिक र राजनीतिक रूपमा पनि नेपालको हरेक परिवर्तनमा गाउँको भूमिका निर्णायक रहँदै आएको छ । चाहे त्यो राणा शासन विरुद्धको आन्दोलन होस् वा दश वर्षे जनयुद्ध र २०६२÷६३ को जनआन्दोलन, गाउँले दिएको साथ र बलिदानकै जगमा आज देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो । तर विडम्बना, जुन गाउँले परिवर्तनका लागि रगत र पसिना बगायो, त्यही गाउँले आजसम्म सोचेजस्तो विकास र समृद्धिको अनुभूति गर्न पाएको छैन । जिउँदाको जन्ती र मर्दाको मलामी हुने त्यो पवित्र थलोलाई राज्यले सधैं उपेक्षामा राख्नु दुखद पक्ष हो । महामारी र संकटका बेला ओत लाग्ने अन्तिम गन्तव्य गाउँ नै बन्ने गरे पनि राष्ट्रिय बजेट र प्राथमिकता अझै पनि शहरमुखी नै देखिन्छ ।

अबको आवश्यकता भनेको गाउँको यो मौलिकता जोगाउँदै त्यहाँ विकासका पूर्वाधारहरू पु¥याउनु हो । यदि गाउँमा बढ्दै गएको बाँझोपन र पलायनलाई रोक्न सकिएन भने ’समृद्ध नेपाल’ को नारा केवल कागजमा मात्र सीमित हुनेछ । सरकारले ग्रामीण क्षेत्रमा लगानीको वातावरण तयार गरी युवाहरूलाई आफ्नै माटोमा भविष्य देख्ने बनाउनुपर्छ । उपयुक्त आयोजना र सुविधाको ग्यारेन्टी गरेर शहरी जनसंख्यालाई गाउँतर्फ आकर्षित गर्न सके मात्र देशको समानुपातिक विकास सम्भव छ । गाउँ रित्तिनु भनेको हाम्रो संस्कार र पहिचान मेटिनु पनि हो, त्यसैले गाउँलाई माया मात्र होइन, यसको उत्थानका लागि सबैले सोच्नुपर्ने बेला आएको छ ।

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

spot_img

सम्बन्धित लेखहरू

नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, शिवराम भण्डारीको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन

पेरिस, फ्रान्स पेरिसमा सम्पन्न नेपाली जनसम्पर्क समिति फ्रान्सको तेस्रो अधिवेशनले शिवराम भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्वाचित गरेको...

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि गरेको दाबी

बुटवल । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटिटिएच (फाइबर टु द...

लिखत सम्बन्धी कसूरमा नविन कुमार अग्रवाल वीरगञ्जबाट पक्राउ

काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते...

“स्थानीय तहको आत्मनिर्भरता र प्रशासनिक दक्षता नै नागरिकको घरदैलोसम्म पुग्ने आधार हो”

माधव पोख्रेल प्रमुख प्रशासकीय अधिकृत, कञ्चन गाउँपालिका रुपन्देही विगत ११ वर्षदेखि निजामती सेवामा निरन्तर समर्पित माधव पोख्रेल एक कुशल, सबल...