प्रमुख समाचारलुम्बिनीसमाचार

लोपोन्मुख जडिबुटी तथा तरकारी उत्पादनमा प्रवद्र्धन गर्दै पैंचो पसल

पोसकान्त पोखरेल
बुटवल । घरको भान्सामा तरकारी तथा स्वादको काम गर्दै केही लोपोन्मुख जडिबुटी तथा तरकारी उत्पादनमा पैंचो पसल प्रा.लि. बुटवलले तिनीहरुको उत्पादनमा प्रवद्र्धन गरेको छ । त्यसैत पहाडमा उत्पादित भएका तर बजार नपाएर कुहिएर जाने धेरै तरकारीहरुलाई गाउँगाउँमा पुगेर शहरसम्म ल्याएर विक्रीवितरणमा कृषकको सारथी बनेको पसलले काँडे धनिया, मरठ्ठी, रामभेडा, भ्याकुर जस्ता लोपोन्मुख औषधीय गुण भएका स्वाद तथा चट्नीको रुपमा प्रयोगमा ल्याईने कृषिजन्य उत्पादनको प्रवद्र्धनमा पछिल्लो समयमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै गएको छ । उत्पादन धेरै भएर बारीका काल्लामा फालिने फर्सी, रुख तथा ढिकभरी फलेर प्रयोग विहीन हुने स्कुस, विस्कुन जस्तै भुँईभरी छितरिने नास्पाती, मकैको सिजनमा बारीभरी हुने सानो तिते करेला, तामा, गिठ्ठा जस्ता थुप्रै पहाडमा आफ्सेआप उत्पादन हुने तर बजार नपाएर कुहिएर जाने तरकारी बालीको बजारीकरणमा पुलको काम गरेको पसलले गाउँगाउँ पुगेर कृषकहरुबाट ति सबै खरिद गरेर विक्री गरिदिंदा उक्त उत्पादन प्रवद्र्धनमा स्वम् किसानले जोड दिएको पाईन्छ ।

’हिजो तपाई हामी सबै पहाडमा जन्मियौं, त्यहिको धुलो माटोमा खेल्यौं, त्यहिको उत्पादन खायौं, हामी मध्ये धेरैको बाल्यकाल तथा माविस्तर सम्मको पढाई ग्रामिण क्षेत्रमै भयो । त्यसपछि हामी उच्च शिक्षा, रोजगार र दुई पैसा आम्दानी गर्ने, व्यापार व्यवसाय गर्ने लगायत विभिन्न बाहनामा शहर तथा तराई त झ¥यौं तर हामीलाई ति दिनहरु हाम्रो मनमस्तिस्कमा छुट्टै छाप बनाएको छ । हामीहरु कहिलेकाहीं जन्मथलो जाँदा आगोमा पकाएर त्यहिको उत्पादन खान खोज्दछौं त्यो भनेको स्मरणलाई ताजा बनाएको हो । अहिले शहर झरियो तर हाम्रो खानपानमा चाहना उही गाउँघरकै हुन्छ तर शहरमा सम्भव नभएपछि विषादी तथा रसायनिक मलबाट उत्पादित खाद्य सामाग्री खान बाध्य हुन्छौं । जसले हामीलाई दीर्घकालिन रोग लाग्दछ । हामी विषादीयुक्त खानपानबाट बाँचेका त छौं तर आयू छोट्याउँदै । अहिले मानिसहरुमा स्वाथ्य प्रति बढ्दो चिन्ता तथा सचेतना, मिठो तथा अर्गानिक स्वादको कारणले पहाडको हरेक उत्पादनको माग उच्च भएकोले कृषक र उपभोत्ता बीच पुलको काम गरेका छौं‘, पैचाें पसल प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत केशव न्यौपानेले भने ।

पहाडमा उत्पादित कुनै पनि खाद्यवस्तुको माग धेरै भएको जानकारी गराउँदै न्यौपानेले पहाडमा धेरै चिसो हुन्छ । चिसोमा उत्पादन ढिलो हुन्छ । ढिलो उत्पादन हुने कुनैपनि कुराको स्वाद तराईमा उत्पादन हुनेको भन्दा तुलनात्मक रुपमै बढी हुन्छ । अझैपनि पहाडमा युरिया मल राख्नु भनेको विषादी राख्नु हो राख्नु हुँदैन भन्ने मानसिकता छ । हाम्रा पुर्खाहरुको लामो आयू हुनु नै विषादी रहित खानपानकै कारण हो । अहिले पहाडका गुल्मी, पाल्पा र अर्घाखाँचीका कृषकहरुलाई उत्पादन गर्न सके विक्छ भन्ने मानसिकताको विकासले बर्षेनी उत्पादन पनि बढ्दो छ । जसले ग्रामिण अर्थतन्त्रलाई चलायमान तथा मजवुत बनाएको छ । पैचों पसलकै कारण एकलाख प्लस कृषकहरु प्रत्यक्ष लाभान्वित हुनु भएको छ । तीन सय भन्दा धेरैले रोजगारी पाएका छन् । कृषकहरुको मनोबल बढेको छ । अझ उत्पादनलाई विविधीकरण गरेर अमेरिका, जापान, दक्षिण कोरिया, अष्ट्रेलिया लगायतका देशमा भएको निर्यातले सानो अंकमा भएपनि देशको व्यापारघाटा कम गर्न भूमिका खेलेको बताए ।

कृषि कर्ममा नाक खुम्च्याउने चलनलाई अन्त्य गर्नुको साथै कृषिलाई सम्मानित पेशाको रुपमा विकास गर्नुपर्ने कुरामा जोड दिंदै प्रमुख कार्यकारी अधिकृत न्यौपानेले कृषि क्षेत्रको प्रोत्साहनको लागि पछिल्लो समयमा स्थानीय तहहरु, प्रदेश सरकार, संघीय सरकार केही आशलाग्दा कार्यहरु गरेकोभएपनि कृषि क्षेत्रका समस्या तथा तीनको समाधानमा पूर्ण रुपमा लाग्न नसकेको बताए । बर्षेनी पहाडमा जग्गाजमिनको बाँझोपन बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले बाँझो जग्गा व्यवस्थापन गर्दै हावापानी अनुसारको प्रविधीमैत्री कृषि प्रणाली,उत्पादकत्व बृद्धिमा उन्नत प्रविधीको विकास, बजारीकरणमा पहुँच बृद्धि, लागत अनुसारको मूल्य, स्वदेशी उत्पादनलाई प्रमुख ग्राहयता, कृषकलाई हेर्ने दृष्टिकोण, बालिनालीमा नोक्सानी पु-याउँने बन्यजन्तुको व्यवस्थापन जस्ता धेरै कुरामा राज्यले ध्यान दिन सकेको अवस्थामा चाहना हुँदाहुँदै पनि विभिन्न कारणले हिचकिच गरेका नयाँ कृषकहरुलाई कृषि कर्मप्रति लगाव बढ्दै जाँदा बाँझिएका खेतबारीहरुले पुन जीवन पाउने बताए ।

अहिले ३५/४० बर्ष उमेर पुगेका जो कोहीलाई पनि थाहा होला आज भन्दा ३५/४० बर्ष पहिलेको कृषि प्रणाली कस्तो थियो भन्ने कुरा । अहिले जो जहाँ जस्तो पोजिशन र अवस्थामा भएपनि अधिकांस नेपालीहरु कृषकका छोराछोरी नै हुन । जसको कारणले गर्दा अहिलेपनि शहरमा बस्नेहरुलाई तपाईंको पहाड घर कहाँ हो भनेर सोध्ने चलन हामी माँझ छ । तराई तथा शहरमा बस्नेहरु सबैको कृषि पेशा नभएपनि पहाडमा बस्नेहरु सबैले कृषि पेशा गरेका हुन्छन् । पहाडमा बस्नेहरुलाई कृषि पेशा नगरी बस्न सक्ने अवस्था पनि हुँदैन जसको कारणले गर्दा सबै परम्परागत खेतीमै रमाएपनि आफ्नै उत्पादन खाने गरेका छन् । उनीहरु शहर र तराईंको उत्पादन सकेसम्म खान खोज्दैनन् । किनकी उक्त उत्पादनमा स्वाद कम हुन्छ । कृषि उत्पादन जति चिसो ठाउँमा भयो उति स्वादिलो हुने हुँदा तराईको भन्दा पहाड र पहाडको भन्दा हिमालको उत्पादन सबैभन्दा बढी स्वादिलो हुने गर्दछ । जसले गर्दा पछिल्लो समयमा यातायातको सहजताले गर्दा पहाड र हिमालमा उत्पादन हुने खाद्यबस्तुहरु तराई र शहरहरुमा पनि आउन थालेका छन् ।

खान सबैलाई मिठो/मिठो अगार्निक पर्छ तर पाखुरामा जाँगर नहुँदा पैसा भएपछि सबै पाईन्छ भन्नेहरुको जमात पनि हामीकहाँ कम छैन । शहर पसेकाहरु सबैलाई मूलको चिसो पानी, स्वच्छ हावा, ओल्लो पल्लो गाउँ सम्मको पारिवारिक जस्तै सुमधुर सम्बन्ध डाँडा पाखा, चारैतिर हरियालीको झल्को सबैलाई आउँछ होला । तर शहरमा जिउने शैली फरक भैसकेपछि पहाडमा गएर पुरानो जीवनशैली जिउन कस्लाई पो मन लाग्छ र सबैलाई सानसँग जिउ भन्ने छ । बाच्नका लागि उत्पादन गर्नु पर्छ भन्ने ज्ञान कसैलाई छैन । सबैलाई पैसाकै घमण्ड छ पैसा भएपछि जे पनि पाईन्छ भन्ने कुरामात्र सबैको मनमष्तिस्कमा बसेको छ । राजनीतिमा कुर्सीको लडाईले विकास निर्माण अस्तव्यस्त बनेको छ । जनताद्वारा विकास गर्न चुनिएका जनप्रतिनिधीहरु आ–आफ्नै स्वार्थमा लिप्त छन् । उत्पादनले बजार नपाउने बजार पाएपनि उचित मूल्य नपाउने । लागत मूल्य बढी र बजार मूल्य कम हुँदा सर्वसाधारणहरु कृषि पेशामा लाग्न उत्सुक देखिंदैनन् । संघीयता सँगै स्थानीय सरकारहरुले कृषि क्षेत्रको विकासमा केही योगदानहरु दिएपनि आवश्यकता र अपेक्षा अनुसारको विकास हुन सकेको छैन । अर्थतन्त्रको मुख्य आधार भनेको कृषि र ७० प्रतिशत भन्दा बढी जनताहरु कृषिमै निर्भर रहेकोले गर्दा अब कृषि क्षेत्रमा क्रान्ती ल्याउनु जरुरी छ । जब सम्म कृषि क्षेत्र फस्टाउन सक्दैन तब सम्म देशले प्रगति गर्न सक्दैन । खेतबारी बाँझो राखेर भारतबाट आयात गरेर खानुपर्ने अवस्था जस्तो लाजमर्दो कुरा त्यो भन्दा अरु केही छैन । त्यसैले खाली जमिनलाई उपयोग गरी आफ्नो भान्सामा आवश्यक उत्पादन आफै गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *