आईएसओ सर्टिफाई प्राप्त गाउँपालिका बन्ने तयारीमा कञ्चन

पोसकान्त पोखरेल
बुटवल । कञ्चन गाउँपालिका रुपन्देही आईएसओ सर्टिफाई प्राप्त गाउँपालिका बन्ने तयारीमा लागेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधब पोख्रेलका अनुसार पालिकाले त्यसका लागि मापदण्डहरु पनि लभग लभग पुरा गरी आवश्यक प्रक्रिया अगाडी बढाईसकेको छ । सेवा सुविधा, कार्यपारदर्शिता लगायतका क्षेत्रहरुमा गाउँपालिका अब्बलनै छ । आईएसओ सर्टिफाईको लागि पालिकाले सुधारात्मक र परिस्कृत रुपमा कार्यसम्पादन गर्दै अगाडी बढेकोले सम्भवतः चालु आर्थिक बर्ष भित्र उक्त प्रक्रियामा सफलता प्राप्त गर्न सफल हुन्छौं की जस्तो लागेको छ । उक्त कार्यमा सफलता प्राप्त गरेसँगै नागरिक सेवाहरू पारदर्शिता र दक्षता आउँछ, जसले गुनासाहरू कम हुन्छन् । प्रक्रियाहरूको दस्तावेजीकरणले त्रुटिहरू कम गर्दछ र आपतकालीन स्थितिमा तयारी बढाउन ठुलो सहयोग पुग्दछ । कर्मचारीहरूको कार्यक्षमता बढाउँछ सहयोग पु-याउँछ । अन्तर्राष्ट्रिय दाताहरू विश्व बैंक, यूएनडिपी र संघीय सरकारबाट अनुदान वा ऋणहरू प्राप्त गर्न सहज बनाउँछ । प्रमाणित गाउँपालिकाले स्थानीय उद्योगहरू कृषि उत्पादनलाई प्रमाणित गर्न मद्दत गर्दछ । गाउँपालिका अन्य स्थानीय तहहरूबाट अलग देखिन्छ, जसले पर्यटन र लगानी आकर्षित गर्नुका साथै प्रमाणीकरणले पालिकालार्ई नियमित समीक्षा गर्न बाध्य पार्ने हुँदा गाउँपालिकाले धेरै क्षेत्रबाट लाभ लिन सक्ने प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले जानकारी गराए ।

चालु आर्थिक बर्षमा भएका र हुने योजनाहरुको बारेमा जानकारी गराउँदै प्रमुख प्रशासीय अधिकृत पोख्रेलले मंसिर मसान्त सम्म योजनाहरु सम्झौता गरेर कार्यान्वयनमा ल्याउने तयारीमा रहेको बताउँदै सम्झौता भएका केही योजनाहरु सम्पन्न भएको र केही कार्यान्वयनमा आएको बताए । पोख्रेलले चालु आर्थिक बर्षमा पूर्वाधार विकास, कृषि, शिक्षा, स्वास्थ्य, उद्यमशिलताको विकास लगायत चौतर्फी क्षेत्रहरुका योजनाहरु रहेका छन् । दश लाख रुपैयाँ भन्दा माथिका योजनाहरु ई–विडिङ मार्फत गर्ने गरेका छौं भने एक लाख रुपैयाँ सम्मका योजनाहरुको सम्झौता वडा कार्यालयहरु मार्फत गर्दछौं । सबै क्षेत्रबाट कार्यसम्पादन हुँदा काम सम्पन्न गर्न खासै समय नलाग्ने हुँदा समयमै बर्खा नलाग्दै योजना सम्पन्न गर्न सबै सरोकारवालाहरुलाई निरन्तर ताकेता गर्ने रणनीति अवलम्बन गरेका छौं । छिटो योजना सम्पन्न गर्ने वडा कार्यालयलाई पुरस्कार स्वरुप थप योजना पनि दिनेकी भन्ने कुरामा पनि छलफल भएको छ । यदि त्यसो सम्भव भयो भने कार्यसम्पादनमा गाउँपालिकामा एउटा असल अभ्यासको सुरुवात हुन्छ । योजनाहरु आर्थिक बर्षको अन्त्य सम्म भ्याएपनि हुन्छ भन्ने सोचलाई अन्त्य गर्ने कोशिस गरेका छौं । यदि त्यसो हुन सक्यो भने समयमै अनुगमन गर्न सकिने, असार मसान्तमा कामको चाप कम हुने, गुणस्तरीय र प्रभावकारी ढंगले काम हुने हुँदा हाम्रो जोड पनि त्यसैमा रहेको छ । त्यसका लागि गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधीहरु, आमकञ्चनबासी सबैको साथ र सहयोगको आवश्यकता रहेको औल्याए ।

सरकारले करार तथा अस्थायी कर्मचारी हटाउन निर्देशन दिएको छ तर पालिकाले त्यस विषयमा कुनै कार्य गरेको छैननी ? भन्ने हाम्रो प्रश्नमा प्रमुख प्रशासकीय अधिकृत पोख्रेलले पालिकामा आवश्यक भन्दा एक पनि कर्मचारी बढी छैनन् । धेरै कर्मचारी दरबन्दीकै छन् । दरबन्दी बाहेकका केही कर्मचारीहरु हटाउन साथ उक्त सेवा ठप्प हुन्छ । कानुनी सल्लाहकार, प्रेस सल्लाहकार, स्वकीय सचिव पहिल्यै देखि छैनन् । गाउँपालिकाले नभएपनि हुने कुनै पनि कर्मचारी नराखेको हुँदा तत्काल हटाउनै पर्ने कर्मचारी  छैनन् । भएका आठ/दश करारमा कार्यरत कर्मचारीहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्धता गराएको बताए ।

गत आर्थिक बर्ष कूल ८२ दशमलव ८९ प्रतिशत खर्च भएको जानकारी गराउँदै लेखा अधिकृत सन्तोष गैरेले गत चालुतर्फ ८२ दशमलव ७१ प्रतिशत र पुँजीगततर्फ ८३ दशमलव २१ प्रतिशत प्रगति भएको बताए । चालु आर्थिक बर्षमा कूल ५६ करोड ८४ लाख ३६ हजार रुपैयाँ मध्ये चालुतर्फ ३९ करोड २० लाख ९१ हजार रुपैयाँ र पुँजीगततर्फ १६ करोड ८७ लाख ५२ हजार रुपैयाँ विनियोजन भएको छ । गाउँपालिकाका आन्तरिक आम्दानीको अवस्था कमजोर हुँदा बजेट निर्माणमा पूर्ण रुपमा संघ र प्रदेश सँग सहकार्य गर्नुपर्ने अवस्था रहेको बताउँदै लेखा अधिकृत गैरेले आम्दानीका श्रोतहरु कम हुँदा पुँजीगत भन्दा चालु क्षेत्रमा बजेट बढी विनियोजन हुने गरेको बताए । विशेष गरेर स्थानीय तहहरुमा श्रोत अभाव, सीमित श्रोतमा असंख्यक स–साना योजनाहरु कार्यान्वयन गर्नुपर्ने चुनौती, राजस्व संकलन प्रक्षेपण अनुसार नहुनु, संघीय सरकार र प्रदेश सरकारबाट आउने वित्तीय हस्तान्तरणको पैसा समयमै नआउनु जस्ता धेरै समस्याहरु रहेका छन्, लेखा अधिकृत गैरेले भने ।

पालिकामा आर्थिक विकाशका लागि धेरै कामहरु भएका छन् । पर्यटन प्रवद्र्धन गर्ने, पूर्वाधार विकास गर्ने, कृषिलाई आधुनिकरण गर्ने, उन्नतजातका बीउविजन उपलब्ध गराएर उत्पादन र उत्पादकत्व बढाउने, आर्थिक विकासमा सम्भावित क्षेत्रको पहिचान गरेर कार्यान्वयन गर्ने, सडक, बिजुली, पानी र इन्टरनेट सुविधा विस्तार गर्ने,गुणस्तरीय शिक्षामा जोड दिंदै अन्य सीप विकासका तालिम तथा कार्यक्रमहरु सञ्चालन गर्ने, उद्यमशिलताको विकासमा आवश्यक रणनीति तयार गर्ने जस्ता धेरै कामहरु भैरहेका छन्, लेखा अधिकृत गैरेले भने ।आर्थिक दैनिकबाट

- Advertisement -spot_img

थप लेखहरू

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्

- Advertisement -spot_img

नवीनतम लेख