पाँच दशमलव सात प्रतिशतले बढ्यो निक्षेप
कुन निक्षेप ७६ खर्ब ८१ अर्ब रुपैंयाँ पुग्दा, कुल कर्जा रकम कति ?

काठमाडौं । बैंकिङ क्षेत्रको निक्षेप रकम बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक बर्षको पुस मसान्तसम्ममाबैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप पाँच दशमलव सात प्रतिशत अर्थात चार खर्ब १७ अर्ब ४८ करोड रुपैंयाँले वृद्धि भई७६ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप तीन दशमलव सात प्रतिशत अर्थात ३९ अर्ब छ करोड रुपैंयाँले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४ दशमलव आठ प्रतिशतले बढेको छ ।
राष्ट्र बैंकका अनुसार २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः छ दशमलव नौं प्रतिशत, ४१ दशमलव तीन प्रतिशत र ४२ दशमलव आठ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः पाँच दशमलव छ प्रतिशत, ३४ दशमलव एक प्रतिशत र ५२ दशमलव छ प्रतिशत रहेको थियो । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३५ दशमलव एक प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो निक्षेपको अंश ३५ दशमलव ५२ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा तीन दशमलव छ प्रतिशत एक खर्ब ९७ अर्ब ४७ करोड रुपैंयाँले बढेर ५६ खर्ब ९५ अर्ब १७ करोड पुगेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा दुई खर्ब ६५ अर्ब ५६ करोड अर्थात पाँच दशमलव दुई प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा छ दशमलव सात प्रतिशतले बढेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२ दशमलव सात प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७ दशमलव तीन प्रतिशत रहेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४ दशमलव दुई प्रतिशत र ३५ दशमलव आठ प्रतिशत रहेको थियो ।समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको तीन दशमलव सात प्रतिशत, विकास बैंकहरूकोे दुई दशमलव नौं प्रतिशत र वित्त कम्पनीहरूको कर्जा प्रवाह एक दशमलव दुई प्रतिशतले बढेको छ । २०८२ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति अर्थात कृषि तथा गैर कृषिजन्य वस्तुको सुरक्षणमा १५ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६३ दशमलव नौं प्रतिशत रहेको छ । २०८१ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १४ दशमलव पाँच प्रतिशत र ६४ दशमलव नौं प्रतिशत रहेको थियो ।
आर्थिक वर्ष २०८२/८३ को छ महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये उपभोग्य क्षेत्रतर्फको कजार्क नौं दशमलव एक प्रतिशत, निर्माण क्षेत्रतर्फको कर्जा सात दशमलव दुई प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा छ दशमलव दुई प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा चार दशमलव चार प्रतिशत, वित्त विमा तथा अचल सम्पत्ति क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशत र सेवा उद्योग क्षेत्रतर्फको कर्जा शुन्य दशमलव नौं प्रतिशतले बढेको छ भने कृषि क्षेत्रतर्फको कर्जा एक दशमलव एक प्रतिशतले घटेको छ ।
समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये मार्जिन प्रकृतिको कर्जा आठ दशमलव तीन प्रतिशत, ट्रष्ट रिसिट (आयात) कर्जा सात दशमलव आठ प्रतिशत, हायर पर्चेज कर्जा सात दशमलव तीन प्रतिशत, क्यास क्रेडिट कर्र्जा तीन प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा दुई दशमलव नौं प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) दुई दशमलव पाँच प्रतिशत र आवधिक कर्जा दुई दशमलव चार प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा क्रमशः तीन दशमलव तीन प्रतिशतले घटेको छ ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निक्षेप सङ्कलन बोलकबोलमार्फत १४ खर्ब २५ अर्ब ५० करोड, स्थायी निक्षेप सुविधामार्फत २७ हजार ८६ अर्ब ९० करोड र नेपाल राष्ट्र बैंक बण्डमार्फत दुई सय अर्ब गरी कुल २८ हजार सात सय १२ अर्ब ४० करोड (कारोबारमा आधारित) तरलता प्रशोचन र ओभरनाइट तरलता सुविधामार्फत१२ अर्ब ५० करोड तरलता प्रवाह गरी खुद रु.२८ हजार छ सय ९९ अर्ब ९० करोड बराबरको तरलता प्रशोचन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा मौद्रिक व्यवस्थापनका विभिन्न उपकरणहरूमार्फत पटक–पटक गरी खुद १३ हजार नौं सय ९९ अर्ब ८० करोड तरलता प्रशोचन गरिएको थियो ।
समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट अमेरिकी डलर तीन अर्ब ४७ करोड खुद खरिद गरी चार खर्ब ९३ अर्ब ४ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर दुई अर्ब ५२ करोड खुद खरिद गरी तीन खर्ब ४० अर्ब ६ करोड तरलता प्रवाह गरेको थियो ।समीक्षा अवधिमा अमेरिकी डलर दुई अर्ब ६ करोड बिक्री गरी दुई खर्ब ९२ अर्ब ९१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर एक अर्ब ९० करोड बिक्री गरी दुई खर्ब ५६ अर्ब ५१ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको राष्ट्र बैंकको भनाई छ ।




