
अग्नि परीक्षा सम्वाददाता
मायादेवी । मायादेवी गाउँपालिका–५, लुक्ठहवा रुपन्देहीमा आज २९ गते मंगलबारदेखि ‘श्री श्री हनुमन्त महायज्ञ’ भव्यताका साथ शुभारम्भ भएको छ । स्थानीय श्री राम जानकी मन्दिरको आयोजनामा सुरु भएको यो आध्यात्मिक अनुष्ठान आगामी माघ ७ गतेसम्म चल्नेछ ।
महायज्ञ मूल आयोजक समितिका अध्यक्ष राधेश्याम कुर्मीले महायज्ञको पहिलो दिन आज बिहान विविध कार्यक्रमहरुको साथ सयौँ श्रद्धालु भक्तजनहरूको उत्साहजनक सहभागिता रहेको थियो । गाउँको परिक्रमा गरी कलशमा पवित्र जल भरेर महायज्ञ स्थलमा स्थापना गरिएसँगै विधिवत् रूपमा यज्ञको प्रारम्भ भएको बताए ।
यस महायज्ञको मुख्य आकर्षणका रूपमा प्रखर आध्यात्मिक प्रवचक स्वामी अशोक सम्राट महाराज जी रहेको र आचार्यको रुपमा दिवाकर नारायण उपाध्याय रहेको जानकारी गराउँदै अध्यक्ष कुर्मीले दिनहुँ सङ्गीतमय श्री हनुमन्त कथा तथा आध्यात्मिक प्रवचन प्रस्तुत गरिनेछ । स्वामीजीको सरल र प्रभावशाली शैलीमा प्रस्तुत हुने कथा श्रवणका लागि स्थानीयका साथै छिमेकी गाउँपालिका र जिल्लाबाट समेत भक्तजनहरू आउने अपेक्षा गरिएको छ बताए ।
महायज्ञ अवधिभर दैनिक हवन तथा पूजा–अर्चना, सङ्गीतमय कथा वाचन, भजन कीर्तन र प्रसाद वितरण, जस्ता कार्यक्रमहरू सञ्चालन हुने जानकारी गराउँदै प्रमुख कथा वाचक स्वामी अशोक सम्राट महाराज जी ले सम्पूर्ण भक्तजनहरूलाई माघ ७ गतेसम्म चल्ने यस महायज्ञमा उपस्थित भई धर्म लाभ लिन र हनुमान जीको कृपा प्राप्त गर्न हार्दिक निमन्त्रणा समेत गर्नुभएको छ ।




