शेयर मूल्य कृत्रिम रूपमा बढाएको आरोपमा दिपेन्द्र अग्रवाल पक्राउ

अग्नि परीक्षा
बुटवल । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ अनुसार दिपेन्द्र अग्रवाललाई धितोपत्र सम्बन्धी ऐन, २०६३ उल्लंघन गरेको आरोपमा काठमाडौंबाट पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय सूचना कक्षका अनुसार अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको शेयर खरिद–बिक्रीमा भ्रामक सूचना सार्वजनिक गरी करिब ४९ लाख रुपैयाँ नाफा आर्जन गरेका थिए । साथै, उनले अन्य टीएमएस यूजर प्रयोग गरी आपसी खरिद–बिक्री गरेको र आफन्त वा सम्बन्धित संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गर्दा कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्य कृत्रिम रूपमा बढाएको देखिएको छ ।
नेपाल धितोपत्र बोर्डको प्रारम्भिक प्रतिवेदन अनुसार, अग्रवालले झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको ठहर गरिएको छ । काठमाडौं जिल्ला अदालत, बबरमहलले पक्राउ अनुमति दिएपछि, अग्रवाललाई आज मंसिर ४ गते काठमाडौं महानगरपालिका वडा नं. ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ सूचना कक्षले जनाएको छ । नेपाल धितोपत्र बोर्डले यस घटनाको विस्तृत अनुसन्धान गरेर आवश्यक कारबाही अघि बढाउने जनाएको छ ।




