काठमाडौँ — नेपाल सरकारले आयातमा पूर्ण बन्देज लगाएको छोकडा (खजुर) भित्र्याउन सरकारी निकायको नक्कली कागजात र हस्ताक्षर किर्ते गरेको आरोपमा सिमभिन इन्टरनेशनल इम्पेक्सका सञ्चालक नविन कुमार अग्रवाल पक्राउ परेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको लेटरहेड, छाप र पूर्वमहानिर्देशकको नक्कली हस्ताक्षर प्रयोग गरी १०० टन छोकडा आयात गर्ने किर्ते अनुमति पत्र बनाएको भन्दै प्रहरीले अग्रवाललाई नियन्त्रणमा लिएको हो ।
सरकारले निकासी पैठारी (नियन्त्रण) ऐन, २०१३ बमोजिम राजपत्रमा सूचना प्रकाशित गरी अर्को व्यवस्था नभएसम्मका लागि छोकडा पैठारीमा पूर्ण रोक लगाएको थियो। सोही बन्देजको उल्लंघन गर्दै अग्रवालले किर्ते कागजात तयार पारी वीरगञ्ज भन्सार कार्यालयमा पेश गरेका थिए। यो घटना बाहिरिएपछि उनीमाथि सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान अघि बढाइएको थियो ।
काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले ५५ वर्षीय अग्रवाललाई वीरगञ्ज महानगरपालिका वडा नं. ११ आदर्श नगर, पर्साबाट पक्राउ गरेको हो। हाल उनीमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २५ अन्तर्गत ‘लिखत सम्बन्धी कसूर’ मा हिरासतमा राखेर थप अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ ।



