पोसकान्त पोखरेल
बुटवल । कुनै समय जीवन निर्वाहका लागि मात्र कृषिमा आश्रित पाल्पाको रिब्दीकोट गाउँपालिका अहिले व्यावसायिक कृषिको नमुना बनेको छ । विगतमा खाद्यान्नका लागि संघर्ष गर्नुपर्ने स्थितिबाट गुज्रिएको यो पालिकाले अहिले कृषि उपज निर्यात गरेर वार्षिक करोडौँ रुपैयाँ भित्र्याउन सफल भएको छ । गाउँपालिकाको पछिल्लो तथ्याङ्क अनुसार रिब्दीकोटबाट वार्षिक ४१ करोड रुपैयाँ भन्दा बढी मूल्यको कृषि तथा पशुजन्य उपज निर्यात हुने गरेको छ । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने र कृषकलाई प्रोत्साहन गर्ने पालिकाको नीतिका कारण यो उपलब्धि सम्भव भएको हो ।
गाउँपालिकामा सुन्तला जातका फलफूलको व्यावसायिक खेती, बेमौसमी तरकारी र विशेष गरी टमाटर उत्पादनमा रिब्दीकोटले जिल्लामै नाम कमाएको छ । पशुपालनतर्फ आकर्षण बढ्दा दुध र खसीबोका बिक्रीबाट ठुलो रकम गाउँ भित्रिने गरेको छ । पहाडी भेगमा हुने विभिन्न जडिबुटीजन्य उत्पादन पनि निर्यातको श्रोत बनेको छ । अकबरे खुसार्नीको पनि राम्रो पकड हुँदा बार्षिक सात करोड रुपैयाँ बराबरको खुसार्नी निर्यात हुने गरेको, गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले भने । कार्कीले केही वर्ष अघिसम्म यहाँका बासिन्दाहरू खाद्यान्नका लागि बजारमा निर्भर हुनुपर्ने अवस्था थियो । तर, गाउँपालिकाले कृषिमा आधुनिकीकरण, बिउबिजनमा अनुदान, सिँचाइको व्यवस्था र बजारीकरणमा सहजीकरण गरेपछि अवस्था बदलिएको हो । “हिजो हातमुख जोर्नकै लागि कृषि गर्नेहरू आज लाखौँ रुपैयाँ बचत गर्न सफल भएको बताए ।
रिब्दीकोटमा उत्पादन भएका सामग्रीहरू पाल्पाको सदरमुकाम तानसेन मात्र नभई बुटवल, भैरहवा, पोखरा र काठमाडौँसम्म पुग्ने गरेको बताउँदै प्रमुख प्रशासकीय अधिकृत सुरेश भुषालले पालिकाको ताजा र अर्गानिक उत्पादनको माग बजारमा उच्च रहेको व्यापारीहरू बताउँछन् । वार्षिक ४१ करोडको निर्यातलाई अझै बढाएर ५० करोड माथि पु¥याउने पालिकाको लक्ष्य छ । यद्यपि, उत्पादित वस्तुको भण्डारणका लागि चिस्यान केन्द्र र थप प्रशोधन उद्योगहरूको आवश्यकता अझै खड्किएको छ । बाँदर तथा जंगली जनावरको आतंक र जलवायु परिवर्तनका कारण कृषिमा देखिने समस्यालाई न्यूनीकरण गर्न पालिकाले नयाँ योजनाहरू ल्याउने तयारी गरिरहेको छ । स्थानीय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर लगानी बढाउँदा कसरी गाउँको अर्थतन्त्र फेरिन सक्छ भन्ने उदाहरण पालिकाबाट प्रष्ट देखिने हुँदा वैदेशिक रोजगारीमा जाने युवाहरूलाई पनि गाउँमै उद्यमी बन्न प्रेरित गर्ने सम्भावना बढ्दै गएको छ, प्रमुख प्रशासकीय अधिकृत भुषालले भने ।
प्रमुख प्रशासकीय अधिकृत भुषालले कृषिमा अग्रगामी परिवर्तनकै लागि पालिकाले ‘एक बोट सयको नोट’ निश्चित मापदण्ड बनाएर कार्यक्रम लागू गरेका छौं । अगार्निक उत्पादनको लागि घरघरमा जैविक मल उत्पादन गर्ने रणनीति पनि अवलम्बन गरिएको छ । निर्यात बृद्धिमा गाउँपालिकाबाट हरसम्भव प्रयास भएका छन् । चालु आर्थिक बर्षमा पनि कृषि क्षेत्रमा धेरै कार्यक्रम रहेका छन् । कृषिका सँगसँगै अन्य विकास निर्माणको क्षेत्रमा धेरै कामहरु भएका छन् । गाउँपालिकामा भएका पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धनमा पनि पालिकाले धेरै कसरत गरेको छ । भैरवस्थान पछिको चर्चित धार्मिक पर्यटकीय क्षेत्रको रुपमा परिचित जलेश्वर मन्दिरको विकासमा सडकको पहुँच बृद्धि, महायज्ञ सञ्चालन, थप संरचनाहरुको विकास जस्ता कामहरु भएका छन् । पालिकाको आफ्नै स्थानीय पाठ्यक्रमको विकास, सडक कालोपत्रे, ग्राभेल, ढलान जस्ता सडक पूर्वाधारका कामहरु पनि धमाधम भैरहेको बताए ।
चालु आर्थिक बर्षमा सञ्चालनमा आउने योजनाहरु मध्ये उपभोक्ता समिति मार्फत कार्यान्वयनमा आउने ९० प्रतिशत योजनाहरु सम्झौता भई कार्यान्वयनमा आएको जानकारी गराउँदै प्रमुख प्रशासकीय अधिकृत भुषालले डेण्डर प्रक्रियाबाट हुने दुई/चार वटा योजनाहरु मात्र सम्झौता गर्न बाँकी रहेको जानकारी गराए । चालु आर्थिक बर्षको पुष मसान्त सम्म पुँजीगत क्षेत्रतर्फ ३० प्रतिशत वित्तीय प्रगति भैसकेको जानकारी गराउँदै बर्खा सुरु हुनु अगावै योजना सम्पन्न गर्ने रणनीतिमा पालिका भएकोले सम्बन्धित सबै सरोकारवालालाई सोही अनुसार कार्यसम्पादनमा कडाई गरेको बताए ।



