सामुन्द्रिक सतह देखि ९४ मिटर देखि एक सय १७ मिटर सम्मको उचाइमा अवस्थित रहेको रहेको कृष्णनगर नगरपालिका भौगोलिक हिसाबले २७ डिग्री २९ मिनेट ४६ सेकेण्ड उत्तर देखि २७ देखि ३४ मिनेट २० सेकेण्ड उत्तरी अकक्षांश र ८२ डिग्री ४४ मिनेट १३ सेकेण्ड देखि ८२ डिग्री ५३ मिनेट ५८ सेकेण्ड पूर्वी देशान्तरमा फैलिएको छ । नगरपालिकाको पूर्वमा महाराजगंज नगरपालिका,दक्षिण तथा पश्चिममा भारत उत्तरमा शिवराज नगरपालिका तथा विजयनगर गाउँपालिका अवस्थित रहेको छ । नगरपालिकाको केन्द्रबाट उत्तरी भागमा २० कि.मि. दुरीमा पूर्व पश्चिम लोकमार्ग रहेको यो नगरपालिका जिल्ला सदरमुकाम तौलिहवा देखि २९ कि.मि. दुरीमा अवस्थित छ । झंडे खाँ नामक व्यक्तिले बस्ति बसालेकोले उनकै नामबाट झंडेनगर भनिन्थ्यो । कालान्तरमा झंडेनगरको पूर्वी भागमा रहेको हालको कृष्णनगर क्षेत्रमा समाजसेवी श्री गया प्रसाद शाहले आधुनिक ढंगले बस्तीको विकास तथा विस्तारमा नेतृत्वदायी भूमिका खेलेकोले उनकै परिवारका सदस्यको नाम कृष्ण रहेको र उनकै नामबाट नै त्यस बस्तीको नाम कृष्णनगर रहन गएको । तत्कालिन तीन वटा गा.वि.स. कृष्णनगर, शिवनगर र सिर्सिहवा गरी २०७० सालमा कृष्णनगर नगरपालिका स्थापना हो । २०७४ सालमा थप सात वटा गा.वि.हरु भिल्मी, पुर्षोत्तमपुर, अजिगरा, बहादुरगंज, विद्यानगर,रामनगर र भगवानपुर सहित दश वटा गा.वि.स. मिलेर अहिलेको कृष्णनगर नगरपालिका बनेको हो । आर्थिक विकासमा औषत रहेको नगरपालिकाको आर्थिक र विकास निर्माण सम्बन्धीत विषयमा रहेर अग्नि परीक्षा राष्ट्रिय साप्ताहिकका लागि नगरपालिकाका लेखा अधिकृत मनिश पाण्डे सँग गरिएको कुराकानीको संक्षिप्त अंश :
नगरपालिकाका विकासको अवस्था कस्तो छ ? नगरपालिका भएपनि यहाँ अन्य नगरपालिकाको तुलनामा औषत विकास भएको छ । संघीयता कार्यान्वयनमा आएसँगै क्रमिक रुपमा विकासले गति लिंदै गएको छ । तर जुन गतिले विकास निर्माण हुनु पर्ने हो त्यो गतिमा हुन सकेको छैन । जे होस बढ्दो क्रममा छ ।
विकास निर्माणमा गति लिन नसक्नुका कारणहरु के के हुन सक्छन् ? यसमा धेरै कारणहरु छन् । नगरपालिका भएपनि अन्य नगरपालिकाको तुलनामा सचेतनाको कमी छ । यद्यपी पछिल्लो समयमा सचेतना बृद्धि हुँदै गएको छ । अर्को कुरा निर्माण सामाग्री अभाव, कामदारको अभाव, भुक्तानी ग्यारेन्टी, कर्मचारीको स्थायित्वमा समस्या लगायतको कारणले निर्माण व्यवसायी, सेवाग्राही समुदाय, आपुर्तीकर्ता, जहाँ जो जो खरिद प्रक्रियामा संलग्न हुन्छन् । ति व्यक्तिहरुबाट ढिलासुस्ती हुने गरेको छ । जसले गर्दा समग्र रुपमा विकास निर्माणका कार्यहरु प्रभावित भएको अवस्था हो ।
योजनाहरु अधुरै छोड्ने प्रवृतिलाई निरुत्साहित गर्न नगरपालिकाले के गरेको छ ? निरुत्साहितका लागि नरपालिकाले धेरै कार्य गरेको छ । सचेत गराउने, जरिवाना तिराउने, कानुन अनुसार अन्य प्रक्रिया समेत अपाउने गरिएको छ । योजना समयभन्दा अगाडी सम्पन्न गर्नेलाई प्रोत्साहन गर्ने व्यवस्था पनि गरिएको छ । योजना सम्पन्न पश्चात योजना शाखा, प्राविधिक शाखा र अनुगमन समितिबाट अनुगमन भैसकेपछि अनुगमन समितिको निर्णय अनुसार तत्काल भुक्तानी गर्ने संयन्त्रको विकास भएको छ । अनुगमन पश्चात भुक्तानी तत्काल हुने भएपछि निर्माण व्यवसायीहरुले काम पनि छिटो र गुणस्तरीय गर्नेे गरेको हामीले पाएका छौं । यहाँनेर मुख्य समस्या के कुरामा देखिएको हामीले महसुस गर्यौं भने सरकारी कार्यालयले समयमा भुक्तानी नदिने र के कति कारणले हो अनुगमन पनि फितलो तरिकाले गर्ने प्रवृतिको परम्परागत विकासले निम्ताएको समस्यालाई चिरेर उक्त परम्पराको अन्त्य गर्दै विकास निर्माणका कार्यहरु अगाडी बढाउँदा त्यसले सकारात्मक प्रभाव पारेको अवस्था छ ।
पूर्वाधार विकास सम्बन्धी के कस्ता कामहरु भएका छन् ? धेरै काम भएका छन् । वडा कार्यालय भवन , विद्यालय भवन, स्वास्थ्य चौकी भवन, सडक कालोपत्रे, सिंचाईका संरचनाहरु, खानेपानीका संरचनाहरु निर्माण तथा मर्मतसम्भार गर्ने, स्वास्थ्य संस्थाहरुमा यन्त्र उपकरण, कृषि मेसिनरी तथा औजारको व्यवस्था गर्ने, सडक स्तरोन्नती, कालोपत्रे गर्ने, गाउँबस्तीहरुमा पिसीसी, आरसीसी ढलान गर्ने, ग्राभेल गर्ने, नयाँ ट्र¥याक खोल्ने, नाली निर्माण गर्ने जस्ता पूर्वाधार विकास सम्बन्धी कामहरु भएका छन् ।
नगरपालिकाको प्रगति अवस्था कस्तो छ ? कुनै समयमा नगरपालिकामा कूल बजेटको अति न्यून पुँजीगत खर्च भएको अवस्था थियो । गत बर्ष उल्लेख्य बृद्धि भई ६७ प्रतिशत खर्च भएको थियो । तुलनात्मक रुपले हेर्दा उक्त प्रगतिलाई धेरै राम्रो प्रगति मान्न सकिन्छ । नगरपालिकाको आन्तरिक आम्दानी पनि तुलनात्मक रुपमा राम्रो छ । चालु आर्थिक बर्षको जेठ १५ गतेसम्म कूल ५५ प्रतिशत प्रगति भएको छ । त्यसमा पुँजीगततर्फ ४६ प्रतिशत र चालु ६१ प्रतिशत खर्च भएको छ । कतिपय बैदेशिक श्रोतका योजनाहरु काम सम्पन्न भएपनि श्रोत फुकुवा नहुँदा भुक्तानी हुन सकेको छैन । गत बर्ष ६७ प्रतिशत प्रगति भएको थियो, भने चालु आर्थिक बर्ष ७० प्रतिशत भन्दा धेरै प्रगति हुने देखिन्छ ।
सु–शासन र पारदर्शिता कायम गर्न के कस्ता प्रयासहरु भएका छन् ? सु–शासन सबैभन्दा महत्वपूर्ण कुरा हो । उपलब्ध श्रोत साधनको उच्चतम प्रयोग गरेर सेवाग्राहीलाई छिटो छरितो सेवा प्रवाह गर्नु नगरपालिकाको प्रमुख लक्ष्य हो । हरेक क्षेत्रमा काम गर्दा सु–शासन र पारदर्शिता हुने गरी कामहरु हुने गरेका छन् । सु–शासन कायम राख्न आवश्यक कुराहरुको विकास गर्दै अगाडी बढेको अवस्था छ । नगरपालिकाका सबै कामहरुलाई सुत्रको प्रयोग गरी डिजीटलाईज गरेर काम गर्ने गरेका छौं । जसले वित्तीय लगायतका क्षेत्रहरुमा सु–शासनको अनुभूति दिएको छ । योजनाहरुको भुक्तानी पनि इएफटी माध्यमबाट गर्ने गरेका छौं । समग्र रुपमा वित्तीय प्रणाली सञ्चालनमा देखिने समस्याहरु न्यून गर्दै जाने रणनीति अनुसार नगरपालिका सञ्चालित भएको छ । नियामक निकाय अख्तियार, सर्तकता केन्द्र लगायतका निकायमा असन्तुष्ट पक्षबाट हुने उजुरीका कुराहरुमा पनि धेरै कम आएको छ । भएका उजुरी पनि तामेलीको अवस्थामा छन् । वित्तीय र प्रशासकीय सु–शासन कायम गर्न नियमित रुपमा सार्वजनिक सुनुवाई गर्ने गरेका छौं । जसले कर्मचारी र जनप्रतिनिधीलाई नजताप्रति उत्तरदायी बनाउने कार्यको विकास हुँदै गएको छ । यो हिसाबले पनि नगरपालिकाको सु–शासन राम्रो भएको प्रष्ट्याउँछ । समग्रमा नगरपालिकाले नागरिकलाई दिने सेवासुविधाहरु अनलाईन प्रणालीबाट मितव्यीता, पारदर्शिता र छिटो छरितो रुपमा सेवा प्रवाह गर्ने गरी काम गरेको छ ।
विगतमा स्थानीय तह संस्थागत स्वःमूल्याङ्कनमा कम नम्बर ल्याउने र बेरुजु पनि बढी धेरै देखिन्थ्यो नी नगरपालिकाको ? विगत जस्तो छैन वर्तमान । अहिले धेरै क्षेत्रहरुमा सुधार भएको छ । लिजामा विगतको तुलनामा नगरपालिकाले राम्रो अंक प्राप्त गर्न सफल भएको छ । प्रदेशमै धेरै बेरुजु आउने पालिकाहरु मध्ये चिनिने गरेतापनि पछिल्ला दुई तीन बर्ष यता बेरुजुमा उलेख्य सुधार भएको छ । दुई÷तीन बर्ष पहिलेको मलेप प्रतिवेदनहरुमा १९÷२० करोड रुपैयाँ सम्म बेरुजु आएको नगरपालिकामा २०८०/८१ को मलेप प्रतिवेदनमा दुई करोड १५ लाख रुपैयाँ झार्न नगरपालिका सफल भएको छ, जुन सबैका लागि खुशीको कुरा हो ।
कृषि, स्वास्थ्य, शिक्षाको क्षेत्रमा के कस्ता कामहरु भएका छन् ? कृषि, स्वास्थ्य, शिक्षा क्षेत्रमा पनि क्रमिक रुपमा सुधार हुँदै गएको छ । समग्रमा, आर्थिक, सामाजिक, भौतिक पूर्वाधार, प्रशासकीय सु–शासन लगायतका क्षेत्रहरुमा पनि उल्लेख्य रुपमा सुधार हुँदै गएको छ । कृषि क्षेत्रमा कृषक र नगरपालिकाको सम्युक्त लगानीमा कृषि क्षेत्रलाई आधुनीकरण गर्दै आवश्यक विभिन्न उपकरणहरुको प्रयोगले उत्पादन लागत घटाउने कार्यहरु भएका छन् । उन्नतजातका बीउविजन वितरण, डिप बोरिङ गाडेरै भएपनि सिंचाईको व्यवस्था मिलाईएको छ । पशुमा लाग्ने विभिन्न रोगका खोपको व्यस्थापन गर्ने, कृत्रिम गर्भाधान गराउने, पशुपालक कृषकहरुलाई आवश्यक तालिम दिने लगायतका कार्यक्रमहरु भएका छन् ।
त्यस्तै, पूर्ण खोप सुनिश्चितता, कुपोषण, सून्य होम डेलिभरी, निःशुल्क औषधी उपलब्ध, ल्याब सञ्चालन, एक्सरे, भिडियो एक्सरे सञ्चालन, स्वास्थ्य संस्थामा आवश्यक पूर्वाधार विकास, उपकरण खरिद जस्ता कामहरु भएका छन् । शिक्षाको क्षेत्रमा पनि धेरै काम भएका छन् । पाठ्यपुस्तको व्यवस्थापन गर्ने, दरबन्दी मिलानमा देखिएको समस्यालाई समाधान गर्न नगरपालिकाले स्वमसेवक शिक्षक राखेरै भएपनि बालवालिकाको पढ्न पाउने अधिकारलाई सुनिश्चित गरेको अवस्था छ । शैक्षिक संस्था शौचालयहरु मर्मत, स्वच्छ पिउनेपानीको व्यवस्था, ल्याब, कम्प्यूटर, लाईब्रेरी, दिवाखाजाको व्यवस्था गर्ने जस्ता कार्यहरु भएका छन् ।
विकास निर्माणको क्षेत्रमा देखिएका समस्या तथा चुनौतीहरु के कस्ता छन् ? विकास निर्माणमा अवसर सँगै चुनौती र समस्याहरु पनि नभएका होईनन् छन् । निर्माण सामाग्री अभाव, चेतनास्तर कमहुनु, कतिपय ठेकेदारहरु अनुभवी नहुँदा न्यून दररेटमा टेण्डर सकार्ने तर काम गर्दै जाँदा घाटा लागेपछि कामै नगर्ने प्रवृति । सर्शत र समपुरक योजनाहरुमा बैदेशिक श्रोत विशेषका योजनाहरुमा र उक्त श्रोतको फुकुवा समयमा नहुँदा भुक्तानीमा समस्या आउने गर्दछ । जसको कारणले ठेकेदारले पनि कामलाई होल्ड गर्ने हुँदा समयमै योजनाहरु सम्पन्न नहुने अवस्थाको सृजना हुनु पनि एउटा समस्या हो । जिल्ला दररेट एउटा हुने तर बीचमा सामानको मूल्य बढ्दा त्यसले पनि समस्या उत्पन्न गर्ने गरेको छ । आर्थिक हैसियत बढी भएको ठेकेदारले थोरै घाटा खाएर भएपनि काम गर्ने गरेका छन् तर आर्थिक हैसियत न्यून भएको ठेकेदारले काम छोडेका उदाहरण विद्यमान छन् । फोहोर व्यवस्थापनको लागि डम्पिङ साईड र बसपार्कको लागि जग्गा प्राप्ती पनि समस्याको रुपमा रहेका छन् भने समयमा अनुगमन हुन नसक्नु पनि नगरपालिकाका मुख्य समस्याको रुपमा रहेको छ । त्यस्तै जनशक्ति अभाव, योजना निर्माण गर्नु भन्दा पहिलेका गर्नुपर्ने विभिन्न स्टेपहरु नगर्नु वा विनियोजन कुशलताको अभाव, क्षमतावान जनशक्तिको कमी, योजना ल्याउने तर त्यसको सम्भाव्यता अध्ययन नगर्ने जस्ता समस्याहरु रहेका छन् ।
समयमा अनुगमन हुन नसक्नुको कारण के हुन सक्छ ? एकैपटक योजनाहरु कार्यान्वयनमा आउँदा ति योजनाहरु एकै पटक सम्पन्न हुन्छन् । भदौं असोज देखि ठेक्का लगाउँदा पुष सम्म ठेक्का लगाएर सक्नुपर्ने हुन्छ । जसले गर्दा योजनाहरु कार्यान्वयन गर्ने समय लम्बिदैं जाँदा फागुन, चैत, बैशाखमा मात्र सुरु हुन्छन् । बजेट पनि भदौं असोज पछि आउने, एकैपटक लोड धेरै पर्ने र अनुगमनमा समय लाग्ने हुँदा त्यसले समस्या निम्त्याएको छ । टुक्रे र वितरणमुखि योजना हुनु । सानो योजनामा पनि त्यहि जनशक्ति अनुगमनमा जानु पर्यो र ठुलो योजनामा पनि त्यहि जनशक्ति । एउटै जनशक्तिले एकैपटक कताकता अनुगमन गर्न भ्याउने हो । त्यो समस्याको विषय बनेको छ ।
जाँदाजाँदै, केही भन्न चाहानुहुन्छ ? यहाँसम्म आएर नगरपालिकाको विषयमा कुरा राख्ने अवसर प्रदान गर्नुभएकोमा यहाँ र यहाँको सञ्चार माध्यमलाई विशेष धन्यवाद । विकास निर्माण हाम्रै लागि हो । हामी सबै मिलेर विकास निर्माणका कामहरु गर्नु पर्छ । नगरपालिकाबाट भएका त्रुटीहरुलाई रचनात्मक सुझाव दिंदै आवश्यक विकास निर्माणको क्षेत्रमा हातेमालो गर्दै अगाडी बढ्न जरुरी छ भन्न चाहान्छु ।



