अग्नि परीक्षा सम्वाददाता
बुटवल । मादक पदार्थ सेवन गरेर श्रीमतिको हत्या गरी भान्साकोठामा गाड्ने एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार पक्राउ पर्नेमा नौबहिनी गाउँपालिका–१, प्यूठान स्याउलीबाङ स्थायी घर भई विगत आठ वर्ष देखि छत्रदेव गाउँपालिका–४ पातलेपोखरा स्थित घर खरिद गरी बस्ने किरण गुरुङ हुन् । पक्राउ परेका गुरुङ आफ्नै श्रीमतिको हत्यामा संलग्न रहेका थिए । प्रहरीका अनुसार उनी श्रीमति सुमित्रा कुमाल गुरुङ र नौं वर्षकी छोरी सँगै बस्दै आएका थिए । सुमित्रा कुमाल गुरुङलाई चार/पाँच दिन देखि नदेखेपछि छरछिमेक तथा माइती पक्षले हराएको भन्दै प्रहरी चौकी बल्कोटमा खोजीको लागि मौखिक जानकारी गराएका थिए ।
प्रहरीले मौखिक उजुरीको आधारमा उनकोे खोजतलास र अनुसन्धान गर्दै जाने क्रममा १२ गते बिहीबार श्रीमान श्रीमतीको सामान्य वादविवाद भएको र त्यहि विवादमा श्रीमान किरण गुरुङले सोही दिन बाँसको लाठी तथा हँसियाको पछाडिको भागले शरीरको विभिन्न भागमा हानि हत्या गरी कम्बलमा पोको पारी आफ्नै घरको भान्साकोठामा खाडल खनि गाडेको अवस्थामा निज मृतकको लास सडेर गन्ध आएपछि रातीको समयमा प्रहरी टोलिले फेलापारी उक्त लास उत्खनन् गरी पोष्टमाटमको लागि जिल्ला अस्पताल अर्घाखाँची पठाईएको निज किरण गुरुङलाई पक्राउ गरी अनुसन्धानको लागि यस कार्यालयको हिरासतमा राखि ज्यान सम्बन्धी कसुरमा थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार अनुसन्धानको क्रममा किरण गुरुङ र सुमित्रा कुमाल गुरुङको दश वर्ष अगाडी प्रेम सम्बन्ध भई दुवैको दोस्रो विवाह भएको थियो भने उनीहरुकी नौं बर्षकी एक छोरी पनि रहेकी छिन् । उनको पूर्व श्रीमतीबाट दुई छोरी रहेको, सुमित्रा कुमाल गुरुङको पूर्व श्रीमानबाट तीन छोरा रहेको अनुसन्धानमा खुलेको छ । ११ गते बुधबार छत्रदेव गाउँपालिका–४ पातलेपोखरा स्थित भजनकृतनको कार्यक्रममा उपस्थित भई राती ११ बजेर ३० मिनेट घर गएका उनले १२ बजे घरमा पुगि श्रीमतीको हत्या गरेका थिए । उक्त बाँसको लाठी एक थान, हँसिया एक थान, गैँची एक थान, बेल्चा एक थान, सानो कोदालो एक थान, ओरेन्ज रक्सीको खालि बोतल एक थान, भरी बोतल एक थान भेटिएको कार्यालयले जनाएको छ ।



